मनहरि तिमिल्सिना

तराई–मधेशमा आएको भीषण बाढीले पुर्याएको क्षति अवलोकन र २ नम्वर प्रदेशमा निर्वाचनको वातावरण बनाउने सोचका साथ अध्यक्ष प्रचण्ड पार्टीका शीर्ष नेताहरु नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र रामबहादुर थापा बादल’लाई लिएर भदौ १२ गते बिहान काठमाडौंबाट मधेशका लागि प्रस्थान गरे ।

८ दिन लामो मधेश अभियानका क्रममा बाढी प्रभावित क्षेत्रको अवलोकन, राहत बितरण, पार्टी प्रवेश, आन्तरिक बैठक र प्रशिक्षण लगायतका कार्यक्रम सम्पन्न गरी भदौ १९ गते दिउँसो अध्यक्ष प्रचण्ड काठमाडौं आईपुगे । ८ दिन लामो मधेश बसाईका गतिविधिलाई संक्षिप्तमा यसरी उल्लेख गरिएको छ ।

१२ गते (सोमबार)
१२ गते बिहान अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहितको टोली बिराटनगरका लागि प्रस्थान गर्यो । बिहान ९.०० बजे बिराटनगर बिमास्थलमा ओर्लिएपछि पहिलो कार्यक्रम पत्रकार भेटघाटबाट सुरु भयो । पत्रकार सम्मेलनमा प्रचण्डले संविधान कार्यान्वयनका लागि तीनै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने कुरामा जोड दिए ।

त्यसपछि मोरङका स्थानीय नेता–कार्यकर्ताहरुसँग भेटघाट सुरु गरे । बाढीपीडित र सुकुम्बासीका समस्या लगायतका विषयमा त्यस सन्दर्भमा कुराकानी भयो । त्यसलगत्तै अध्यक्षले मोरङका कार्यालय प्रमूखहरुलाई बोलाएर बाढीको क्षति र राहतको अवस्थाबारे जानकारी लिए ।

कार्यालय प्रमूखहरुसँगको भेटमा अध्यक्षले स्थानीय स्तरमा राहत र पूनर्बासको व्यवस्था प्रभावकारी बनाउन र कुनै समस्या आए जानकारी गराउन निर्देशन दिए ।

दिउँसो १२.०० बजे माओवादी केन्द्र प्रदेश नं.–१ को प्रशिक्षण कार्यक्रम सुरु भयो । प्रशिक्षणमा अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, गोपाल किराँती लगायतका नेताहरुले सामयिक राजनीति, माओवादी केन्द्रको भूमिका र आगामी कार्यभार सम्बन्धि करिव ७५० जना अगुवा कार्यकर्तालाई प्रशिक्षित गरे ।

 

प्रशिक्षणपछि अध्यक्षको टिम जनकपुरका लागि प्रस्थान गर्यो, कोशी ब्यारेज र त्यहाँको अवस्थाबारे स्थलगत अवलोकनपछि राति ११.०० बजे अध्यक्षको टिम जनकपुरको जिरो माइलमा आएर बिश्राम गर्यो ।

१३ गते (मंगलबार)
बिहान ५.०० बजे नै अध्यक्ष मर्निङ वाकमा निस्के । मर्निङ वाकका क्रममा उनले स्थानीय जनताका समस्या, मधेशको राजनीतिक अवस्था, निर्वाचनबारे मधेशी जनताको धारणा लगायतका विषयमा चिया गफ गरे ।

बिहान ७.०० बजेदेखि २ नम्वर प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सचिवालय सदस्यहरुको बैठक सुरु भयो । बैठकमा मूलतः ३ विषयमा छलफल चल्यो, (१) मधेशको राजनीतिक परिस्थिति, (२) चुनावी रणनीति, (३) उम्मेदवारहरुको चयन ।

बैठकमा प्रचण्ड, प्रकाश, बादल, मातृका यादव, विश्वनाथ साह, रामचन्द्र झा, रामकुमार शर्मा, सत्यनारायण मण्डल, प्रभू साह, श्रवणकुमार यादव, उर्मिला अर्याल लगायतका नेताहरु थिए ।

दिउँसो २.०० बजे जनकपुरमै पार्टी प्रवेश कार्यक्रमको आयोजना गरियो । सद्भावना पार्टीका संस्थापक अध्यक्ष अनिस अन्सारी र नयाँ शक्तिका केन्द्रीय नेताहरु लगायत १२७० जना नेता–कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरे ।

अध्यक्ष प्रचण्डले ११ वर्षपछि मधेशमा माओवादीको पक्षमा उभार आएको भन्दै मधेशी र पहाडी अतिवादको विपक्ष र राष्ट्रिय एकताको पक्षमा उभिन सबैलाई अपील गरे । त्यसपछि फेरी सचिवालय बैठकले निरन्तरता पायो र साँझ जनकपुरमै बिश्राम गरियो ।

१४ गते (बुधबार)
अध्यक्षको मर्निङ वाक र चिया गफले बुधबार पनि निरन्तरता पायो ।

त्यसपछि बिहान ९.०० बजे सर्लाहीको हरिपूर्वामा पुगेर सद्भावना पार्टी केन्द्रीय सदस्य जीतनारायण यादवसहितका १२०० नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराइयो ।

बिहान ११.०० बजे सर्लाहीकै नवलपुरमा २०० जना कार्यकर्ता पार्टी प्रवेश गरे । दिउँसो १२.०० बजेबाट सर्लाहीको चक्रघट्टीमा लोकतान्त्रिक फोरमका सहअध्यक्ष रामेश्वर राय लगायतको नेतृत्वमा ६५०० प्रवेश गरे । उक्त कार्यकर्तामा नवप्रवेशी नेता–कार्यकर्तालाई टिका लगाउन मात्रै अध्यक्ष प्रचण्डलाई झण्डै ८ घण्टा लाग्यो ।

माओवादी प्रवेश गर्दै सहअध्यक्ष रायले मधेशी दल बाटोमा राखिएका नाङ्ले पसल भएको, श्रीमति र ज्वाई माननीय बनाएको र मधेशका मुद्दा खरिदबिक्री गरेकाले आफू माओवादीमा आएको बताए ।

रायले माओवादीको १० वर्षे युद्धले गरेको राजनीतिक परिवर्तन र प्रचण्डको १० महिने प्रधानमन्त्री कालबाट आफू निकै प्रभावित भएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेशमा माओवादीको पक्षमा ठूलो लहर आएको र रायको प्रवेशले ठूलो राष्ट्रिय सन्देश गएको बताए । पार्टी प्रवेश कार्यक्रम र कार्यकर्ता भेटघाटपछि राति रौतहटको चन्द्रनिगाहापुर पुगेर बिश्राम गरियो ।

१५ गते (बिहीबार)
मर्निङ वाकपछि बिहान ८.३० बजे रौतहटको बडर्वामा बाढीले गरेको क्षतिको निरीक्षण, स्थानीयबासीलाई सम्बोधन गरेर गौरमा उद्योग–व्यवसायी र बाढी पीडितसँग संक्षिप्त अन्तरक्रिया गरियो ।

अन्तरक्रियामा अध्यक्ष प्रचण्डले बाढी प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्रका रुपमा घोषणा गरी राहत र पूनर्बासलाई प्रभावकारी बनाउन आफूले पहल गर्ने जानकारी गराए । त्यसपछि बिहान ११.०० बजे गौर उद्योग वाणिज्य संघका सचिव मुनिल कुमार ठाकुरसहित २०० प्रवेश र पार्टी कार्यालय उद्घाटन गरेर अभियान टिम राजपुरका लागि प्रस्थान गर्यो ।

दिउँसो १२.३० बजे रौतहटको राजपुरमा १७०० जना माओवादीमा प्रवेश गरे । दिउँसो ३.०० बजे रौतहटको गरुडामा राजपाका केन्द्रीय सदस्य शेर नुरुल होदा, मायादेवी जैसवाल, मीना जैसवाल, एमाले नेता सुधिर यादव, देवकी नेपाल, नथुनी चौधरी लगायत १२०० जना नेता–कार्यकर्ता माओवादीमा प्रवेश गरे ।

दिउँसो ४.०० बजे रौतहटको कनकपुरमा २० औं हजारको जनसभामा अध्यक्षले सम्बोधन गरे । जनसभामा ५०० जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरे । बेलुका रौतहटको गरुडामा १००० बाढी पीडित परिवारलाई ग्याँस सिलिण्डर, चुल्हो, चामल, दाल लगायतका राहत सामग्री बितरण गरेपछि महोत्तरीको बर्दिबासमा आएर बिश्राम लियौं भने नारायणकाजी श्रेष्ठ र नेता बादल राजधानी फर्के ।

१६ गते (शुक्रबार)
शुक्रबार बिहानैदेखि दिउँसो ४.०० बजेसम्म बर्दिबासमा सिरहाका नेता, कार्यकर्तासँग पार्टीको संगठनात्मक अवस्था, चुनावी रणनीति, उम्मेवार लगायतका विषयमा आन्तरिक छलफल भयो ।

बेलुका ५.०० बजेदेखि रौतहटको चपुरमा नेता, कार्यकर्तासँग छलफल भयो । शुक्रबारको दिन सम्पूर्ण रुपले आन्तरिक छलफलमै केन्द्रित भयो । साँझ टिमले रौतहटको चपुरमा बिश्राम लियो ।

१७ गते (शनिबार)
बिहान ८.०० बजे पार्टीको केन्द्रीय सचिवालय बैठकका लागि पर्साको बीरगंज प्रस्थान गरियो । दिनभर सचिवालयको बैठक चल्यो । बेलुका ६.०० बजे सचिवालय बैठकका निर्णय पत्रकार सम्मेलनद्धारा सार्वजनिक गरियो ।

मधेशमा माओवादी केन्द्रको पक्षमा राम्रो लहर सिर्जना भएको निष्कर्ष निकाल्दै बैठकले बाढी प्रभावितका समस्या सम्बोधन गर्न, मधेशमा निर्वाचनको वातावरण बनाउन सम्पूर्ण रुपले केन्द्रित हुने निर्णय गर्यो । साँझ स्थानीय कार्यकर्तासँग भेटघाट चल्यो, त्यसपछि शनिबार बीरगञ्जमै बास बसियो ।

१८ गते (आइतबार)
बिहान ७.०० बजे बीरगञ्ज महानगरको प्रसौनीमा ३०० जना स्थानीय कार्यकर्तालाई अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराए । त्यसपछि सिमराको टाँगिया बस्तीमा १७० कार्यकर्तालाई माओवादी केन्द्रमा प्रवेश गराएपछि बाराकै कोल्हबी नगरमा आयोजित सभालाई अध्यक्ष प्रचण्ड र नेता बादलले सम्बोधन गरे । उक्त कार्यक्रममा कांग्रेस नगर सभापतिसहित २७० जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरे ।

त्यसपछि दिउँसो नै सर्लाहीमा बिशाल पार्टी प्रवेशको कार्यक्रम भयो । राजपाका केन्द्रीय सदस्यहरु चेतनारायण महतो, राजकुमार साह, सीताराम महतो र दर्जनौं पूर्व गाबिस अध्यक्षसहित ५००० जना नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरे ।

पार्टी प्रवेश गर्दै राजपाका नेताहरुले हिमाल, पहाड र तराई–मधेशलाई समान देख्ने पार्टी माओवादी भएकाले आफूहरु माओवादीमा आएको र मधेशी दलहरु सत्ता स्वार्थमा केन्द्रित भएको बताए । पार्टी प्रवेश कार्यक्रमपछि अध्यक्षको टिम बाराको सिमरामा आएर बिश्राम लियो ।

१९ गते (सोमबार)
सोमबार बिहानै अध्यक्ष प्रचण्ड लगायतका नेताहरु घरदैलो अभियानमा सहभागी भए । त्यसलगत्तै सिमराका ३ स्थानमा आयोजित सभालाई अध्यक्षले सम्बोधन गरे ।

कार्यक्रममा राजपाका केन्द्रीय सदस्य योगानन्द चौहानसहित ५०० जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरे । सभापछि स्थानीय नेता–कार्यकर्तासँग भेटघाट गरेर अध्यक्ष प्रचण्ड दिउँसो १.०० बजे काठमाडौंका लागि प्रस्थान गरे ।

काठमाडौं फर्केलगत्तै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरियो ।

कार्यक्रममा पूर्वसभासद एवं राजपाका केन्द्रीय सदस्य शिबपुजन यादव, राजपाका केन्द्रीय सदस्यहरु रामबाबू दास, रामएकवाल राय, राजपा जिल्ला उपाध्यक्ष महेन्द्र प्रसाद यादव, क्षेत्रीय सभापतिहरु अनिलकुमार सिंह, अनितादेवी यादव, विश्वमोहन सिंह लगायतका दुई दर्जन नेताहरु माओवादी केन्द्रमा प्रवेश गरे । पार्टी प्रवेश गर्नेमध्ये अधिकांश नेता पूर्व गाबिस अध्यक्षहरु थिए ।

यसरी ८ दिन लामो मधेश बसाईका क्रममा मधेशमा १९,००० जनाभन्दा बढी नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् भने पहिलोपटक माओवादीका पक्षमा मधेशमा जनलहर देखिएको छ ।

अध्यक्ष प्रचण्ड सहभागी हरेक कार्यक्रममा जनताको छुट्टै स्नेहभाव र आत्मीयता झल्कन्थ्यो । शिबपुजन यादव लगायतका नेताहरु पार्टी प्रवेश गरेपछि उनीहरुको पक्षमा रहेका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराउन केही दिनमै अध्यक्ष प्रचण्ड मधेश जाने कार्यतालिका छ ।

मधेश अभियानबाट उत्साहित माओवादी नेताहरुले उम्मेदवारहरुको व्यवस्थापन र चुनावलाई प्रभाव पार्ने अवाञ्छित गतिविधि रोक्न सके माओवादी पहिलो पार्टी बन्ने आंकलन गरेका छन् ।

(तिमिल्सिना प्रचण्डका प्रेस संसोजक हुन् ।)