१६ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संसोधनमा सहमति जुटाउन आग्रह गर्दै निर्वाचनबीचको बजेट के गर्ने र मतगणना पनि दुई पटक गर्ने वा एकैपटक गर्ने भन्ने विषयमा छलफलका लागि बोलाएको सर्वदलीय बैठकमा नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।

प्रमुख प्रतिपक्ष दल एमालेसहितका केही साना दलले संविधान संसोधनलाई अगाडि बढाउनै नहुने र बजेटपछि निर्वाचन गर्नै नहुने अडान लिए पनि दुई दर्जन दल सहभागी बैठकका अन्य दलहरुले जसरी पनि संसोधनलाई पास गर्नुपर्ने पक्षमा मत दिएका छन् ।

विषयमा सुझाव दिनेभन्दा पनि अरु विषयमा साना दलका नेताहरुले परिस्थितिलाई अन्तै मोडिदिए । बैठकमा दलित जनजाति पार्टीका नेता विश्वेन्द्र पासवानले अब प्रचण्डपछि मधेसी दलका नेतालाई प्रधानमन्त्री बनाउने खेल भएको बताए । उनले यसो भनिरहँदा प्रधानमन्त्री प्रचण्ड नजिक राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो थिए ।

मधेसी नेताको प्रधानमन्त्रीमा चर्चा चल्दा अबका प्रधानमन्त्री भन्दै चर्चा गरिएका कांग्रेस सभापति शेरबहादुर देउवाले केही असहज मानेको बैठकमा सहभागी एक नेताले बताए । देउवा पनि प्रधानमन्त्री प्रचण्डकै नजिक थिए ।

नेता पासवानले संविधान संसोधन नै भारतले गर्न लागेको बताएका थिए । उनी बैठकको बीचतिरै बोलेर हिडेका थिए । पत्रकारसँग भारतको नाम नै नलिई उसले संसोधनमा अनावश्यक हस्तक्षेप गरेको आरोप पटकपटक लगाएका थिए । तर, भारतलाई आरोप लगाउने पासवान भारतीय नम्बर प्लेटकै गाडी चढेर बालुवाटारको बैठकबाट बाहिरिएका थिए ।

सांसद किन्ने खेल भएको आरोप
बैठकमा नेकपा संयुक्तका नेता गणेश साहले भने संविधान संसोधन पास गर्ने नाममा सांसद किनबेचको खेल भइरहेको आरोप लगाए । ‘जसरी पनि संसोधन पास गराउछु भन्ने नाममा असहज आर्थिक क्रियाकलाप हुने देखिएको छ’ सांसद किनबेचतिर लक्षित गर्दै साहले भने, ‘राष्ट्रिय सहमतिबाटै गरौं, लज्जित हुने अवस्था नआयोस् ।’