३ जेठ, काठमाडौं ।
यतिखेर चारवटा महानगरमध्ये धेरैको नजर चितवनको भरतपुर महानगरपालिकामा छ । काठमाडौं, ललितपुर, पोखरा लेखनाथ भन्दा बढी चासो भरतपुरमा हुनुको कारण हो त्यहाँबाट उठेकी कांग्रेस–माओवादी गठबन्धनकी संयुक्त उम्मेदवार रेणु दाहाल प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी हुनुले हो ।

कांग्रेसले तालमेल गरी रेणुलाई भरतपुर छोड्ने र पोखरामा माओवादीले कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको थियो ।

अर्कोतिर सत्ता गठबन्धनमा समेत अहिले कांग्रेस र माओवादी नै छन् । फेरि अब प्रचण्डले राजीनामा दिएपछि कांग्रेसबाट सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने लगभग पक्कापक्की जस्तै छ ।

तर, प्रचण्डपुत्री भरतपुरबाट जितिनन् भने के देउवालाई प्रचण्डले काँध थाप्लान् ? यो निक्कै कौतुहलको विषय बनेर देखा परेको छ । किनकी प्रचण्डले जसरी पनि भरतपुरमा छोरी रेणुलाई जिताउने अभिलाषा लिएका छन् । अहिले रेणुलाई जिताउन सकिए संसदीय चुनावमा सोही ठाउँबाट आफू उठ्ने दाउ उनको छ ।

यस्तोमा रेणुको जितले धेरै अर्थ राख्छ । तर, एमालेले जसरी पनि रेणुलाई हराउने गरी निर्वाचनको तयारी गरेको थियो । त्यो तयारीको प्रारम्भिक संकेत मतगणनामा देखिइरहेको छ । सुरुदेखि नै एमाले प्रमुखका उम्मेदवार देवी ज्ञवालीले रेणुलाई पछि पारिरहेका छन् । बीचमा एकपटक थोरै मतले रेणुले जिते पनि अहिले अग्रता एक हजार हाराहारी छ । ज्ञवालीले दुई हजार सात सय ४९ मत ल्याएका छन् । रेणुले एक हजार आठ सय ६९ मत मात्र ल्याएकी छिन् ।

अब यस्तै अग्रता बढ्दै गए ज्ञवालीको जित लगभग सुनिश्चित छ । अर्कोतिर यस अघिदेखि नै कांग्रेसका नेता कार्यकर्ताले रेणुलाई भोट नहाल्ने हो की भन्ने देखिएको थियो । यस्तोमा रेणुले हार्ने सम्भावना धेरै रहेको बताइन्छ । कांग्रेस उपप्रमुखकी उम्मेदवार पार्वती शाहले भने २२८९ मत ल्याएबाट पनि सबै कांग्रेसले माओवादीकी रेणुलाई भोट नहालेको प्रष्ट हुन आउँछ ।

अब रेणु भरतपुरबाट हारिन् भने के देउवा प्रधानमन्त्री होलान् ? कांग्रेससँगको गठबन्धनलाई प्रचण्डले काँध थापिदेलान् ? यसको प्रश्न सिधा र सहज भने पक्कै छैन । प्रचण्डले अब राजीनामा दिने बताइसकेका छन् । यस्तोमा रेणु जित्दा उनले देउवालाई काँध थाप्न सक्छन् होइन हारिन् भने प्रचण्डको एमालेको कित्तामा उभिन पनि सक्छन् । यस्तोमा देउवालाई तनाव हुनेछ । यसैले देउवाले रेणुको जितको कामना गरिरहेका छन् भन्ने बुझ्न गाह्रो छैन ।