१५ असोज, भक्तपुर।
नेकपा माओवादीका अध्यक्ष नेत्र विक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको शिर झुक्ने गरी राष्ट्रघात गरेको आरोप लगाएका छन् ।

फाइल तस्बिर

फाइल तस्बिर

अध्यक्ष चन्दले महान जनयुद्ध र क्रान्तिको नेतृत्व गरेका व्यक्तिले सामन्त र दलाल पुँजीवाद पार्टीले भन्दा नराम्ररी जनतालाई धोका दिएर राष्ट्रघात गरेको बताए ।

नेकपा माओवादी भक्तपुरले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै नेता चन्दले प्रधानमन्त्री दाहालले भारतीय शासकसँग झुकेर नेपाली जनतालाई ठूलो धोका दिएको आरोप लगाए ।

महाकाली सन्धि र पञ्चेश्वर आयोजनाको विरुद्ध लडाई लडेको पार्टीले भारतसँग राष्ट्रघाती सन्धी सम्झौता गर्नुले नेपालीको शीर निहुरेको उनले बताए ।

माओवादीहरु विलय गराउने र सत्तालिप्सामा फसाउने षड्यन्त्रको जालोमा प्रधानमन्त्ती दाहाल लागि परेको बताए । चन्दले विगतमा टाउको मूल्य तोक्ने पार्टीको समर्थनमा सरकारमा बस्नुले माओवादीले क्रान्तिको सबै एजेन्डा छाडेर सत्तालिप्सामा फसेको बताए ।

उनले संसदवादी र क्रान्तिकारीबीचको धुव्रीकरण हुने बताउँदै समयले क्रान्तिको खाँचो दर्शाएकाले आफूहरुले क्रान्तिको नेतृत्व गरेको बताए । नयाँ संविधानले नेपाली जनताको भावना समेटन नसकेको बताउँदै उनले संविधान असफल हुने बताए ।