५ मंसिर, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरा प्रकाशको वियोगबाट परिवारमा ठूलो चोट परे पनि राष्ट्रप्रतिको दायित्वबोधले शोकभन्दा माथि उठ्न शक्ति मिलेको बताएका छन् । पुत्रवियोगमा प्राप्त समवेदनाले शोक सहन गर्न सघाएको उनले प्रतिक्रिया दिए ।

‘उनको अभावमा हाम्रो परिवारलाई ठूलो चोट परेको छ, अस्पतालसमेत लैजान पाइएन प्रकाशलाई,’ दाहालले सोमबार लाजिम्पाट निवासमा सञ्चारकर्मीसँग भने, ‘राष्ट्रप्रति हाम्रो दायित्व छ भन्ने अनुभूतिले हामीलाई शोकभन्दा माथि उठ्न शक्ति दिएको छ ।’

दाहालले छोरा प्रकाशबाट चुस्त प्रेस सम्बन्ध र अन्य आन्तरिक व्यवस्थापनमा ठूलो सहयोग गरेको सम्झना गरे । राजनीतिक विषयमा समेत छोराका सल्लाहहरू महत्वपूर्ण हुने गरेको उनले स्मरण गरे। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीलगायत विभिन्न पार्टी नेता, कूटनीतिक नियोग प्रमुख, विभिन्न क्षेत्रका प्रतिनिधिले अध्यक्ष दाहाललाई भेट्दै समवेदना दिएका थिए । आइतबार बिहान हृदयाघातका कारण निधन भएका प्रकाशलाई श्रद्धाञ्जली तथा परिवारप्रति समवेदना प्रकट गर्न दाहाल निवासमा सोमबार दिनभरि भीड लागेको थियो ।