११ वैशाख, काठमाडौं ।
सरकार र मधेसी मोर्चाबीच भएको सहमतिको विषयलाई लिएर एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधनमा पार्टीले खेल्ने भूमिकाको बारेमा छलफल थालेका छन् । सरकारले संविधान संशोधन विधेयक परिमार्जनसहित संसदमा टेबल गर्न लागिरहेको र चुनाव दुई चरणमा गर्ने गरी प्रक्रिया अघि बढाएपछि ओलीले पार्टीको धारणा तय गर्न पार्टीमा छलफल थालेका हुन् ।


अध्यक्ष ओलीको निवास वालकोटमा बिहान साढे आठ बजेदेखि सुरु भएको स्थायी कमिटीको बैठक अहिले पनि जारी रहेको ओलीको स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए । बैठकले दुई चरणको चुनाव र संविधान संशोधनका बारेमा आफ्नो औपचारिक धारणा सार्वजनिक गर्नेछ ।

मधेसी मोर्चासँग भएको सहमति र संविधान संशोधनको बारेमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतवार दिउसो ओली निवास वालकोट पुगेका थिए । ओलीले मोर्चासँग भएको भनिएका सहमति लिखितरुपमा मागेका थिए । मधेसी मोर्चासँग सत्ता गठबन्धनले गरेका सहमति स्वीकार गर्ने कि नगर्ने भन्ने बारेमा पनि बैठकले ठोस धारणा बनाउनेछ ।