कञ्चनपुरको आनन्द बजारमा हिजो भारतीय एसएसबीको गोली लागेर गोविन्द गौतमको मृत्यु भएपछि नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज र आम नागरिक भारतीय पक्षको ज्याजतिको विरुद्धमा उत्रिएका छन् । कञ्चनपुरमा विरोध प्रदर्शन भएको मात्र छैन नेपालस्थित भारतीय दुतावासदेखि देशभर घटनाको विषयलाई लिएर आक्रोश र विरोध सुरु भएको छ । कञ्चनपुर घटनाको विषयलाई लिएर सरकारले भारतीय सरकारसँग वार्ता सुरु गरेको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि कञ्चनपुर घटनाको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । यसै विषयमा नेकपा माओवादी केन्द्रका नेता मणि थापासँग नेपालीहेडलाइन्सले गरेको कुराकानीः–

कञ्चनपुरको घटनालाई कसरी लिनुभएको छ ?

कञ्चनपुरको आन्नद बजारमा गोविन्द गौतमले नेपाली सीमाको रक्षा गर्दा भारतीय एसएसबीको गोली प्रहारबाट मृत्यु भएको छ । यो निकै निन्दनीय घटना हो । यो घटना भारतीय विस्तारवादको उत्कर्ष रुप हो । नेपालको सार्वभौमसत्तामाथिको प्रहार हो ।

नेपाल र भारतबीच सीमामा पटक–पटक यस्ता घटना दोहोरिरहेका छन नि ?

नेपाल–भारतबीच खुला सीमाना छ । नेपाल र भारतको बीचमा विशिष्ट सम्बन्ध पनि छ । तर भारतीय पक्षले पटक–पटक नेपालभूमि माथि प्रवेश गरेर नेपाली जनतालाई दुःख दिने काम गर्दै आएको छ । देशमा राजनीतिक स्थिरता नहुने, राजनीतिक पार्टीहरुबीच एकता नहुदा भारतीय विस्तारवादी नीति बलियो भएर गएको छ । राष्ट्रिय एकता कमजोर हुँदा भारतीय विस्तारवादले खेल्ने मौका पाउदै आएको छ । राजनीतिक दलरुबीच एकताबद्ध नहुँदा भारतीय दादागिरी देखिने गरेको छ ।

अब सरकारले के गर्नुपर्छ ?

सरकारले राजनीतिक र कुटनीतिक रुपमा वार्ता गर्नुपर्छ । सरकारले कञ्चनपुरको घटनालाई सामान्य रुपमा लिनु हुँदैन । यो घटनामा सरकारले भारत सरकारलाई माफी माग्न लगाउनु पर्छ । साथै यस्तो घटना नदोहोर्याउने प्रतिबद्धता भारतलाई गराउन लगाउनु पर्छ । अब यस्ता घटना दोहोरिन नदिन सरकारले भारतलाई कुटनीतिक रुपमा पहल गर्नुपर्छ ।

प्रधानमन्त्री प्रचण्डले सिधै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्नुपर्ने आवाज उठिरहेको छ नि ?

सरकारले आफ्नो च्यानल मार्फत कुराकानी गरिरहेको छ । भारतीयले नेपाली भूमिमा आएर नेपाली नागरिकको हत्या गर्नु सामान्य विषय मान्न सकिन्न । यो निकै ठूलो घटना हो । सार्वभौमसत्ता नेपालले आफ्नो नागरिक भारतीय एसएसबीको गोली लागेर मृत्यु हुँदा प्रधानमन्त्रीस्तरमा पनि कुराकानी गर्नु राम्रो हुन्छ । भारतीय पक्षलाई गल्ती स्वीकार गर्न लगाउने र आम जनताले थाहा पाउने गरी सरकारले जानकारी गराउनु पर्छ ।

भारतले कञ्चनपुर घटनामा माफी नमागे माओवादीले के गर्छ ?

कञ्चनपुर घटनाको विषयलाई लिएर वाइसीएलले विरोध प्रदर्शन गरिसकेको छ । भारतीय नम्बर प्लेटका गाडी र भारतीय सिनेमा माथि प्रतिबन्ध लगाउने नीति लिएको छ । भारतीय सरकारले माफी माग्नु पर्छ । नमागि सुख नै छैन । गल्ती गर्नेले माफी पनि माग्नु पर्छ । भारतीय सरकारले कञ्चपुर घटनामा माफी नमागे फेरि नयाँ कार्यक्रम घोषणा गछौं ।