२ साउन, काठमाडौं । स्थानीय तहको निर्वाचनको समीक्षा र मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तारलगायतका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)ले आज केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरिने उक्त बैठकमा पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले सोचेअनुसारको नतिजा प्राप्त गर्न नसक्नुका कारणलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

यस्तै, प्रदेश नं २ को स्थानीय तहको निर्वाचनको तयारी र पार्टीको रणनीतिका विषयमा समेत छलफल हुने बताइएको छ । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा योजना र कार्यक्रमका हिसाबले गाउँगाउँमा सिंहदरबार भन्ने नारा अगाडि सारेपनि परिणाम सोअनुसार नआएको भन्दै त्यसको वस्तुनिष्ठ समीक्षा गर्ने जनाएको छ ।