४ मंसिर, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उनका परिवारलाई भेट गरी समवेदना व्यक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारी पुत्र वियोगमा रहेका अध्यक्ष ‘प्रचण्ड’ सहित उनका परिवारलाई समवेदना व्यक्त गर्न आज लाजिम्पाटस्थित प्रचण्ड निवासमा पुगेको राष्ट्रपतिका सञ्चार विज्ञ माधव शर्माले जानकारी दिए ।

अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको आइतवार विहान हृदयघातका कारण ३६ वर्षको उमेरमा असामयिक निधन भएको थियो ।

यसैगरी नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उहाँका परिवारलाई भेट गरी समवेदना व्यक्त गरे ।

देउवा आज अध्यक्ष प्रचण्ड निवासमा लाजिम्पाट पुगी असामयिक निधन भएका प्रकाश दाहालप्रति भाव पूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा हार्दिक समवेदना व्यक्त गर्नुभएको प्रम देउवाका प्रेश संयोजक गोविन्द परियारले जानकारी दिए ।

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरु माधवकुमार नेपाल, भानुभक्त ढकाल, विष्णु रिमाल पनि लाजिम्पाट गइ पुत्र वियोगमा रहेका अध्यक्ष प्रचण्डसहित परिवारलाई भेट गरी समवेदन प्रकट गरेका थिए ।

एमाले अध्यक्ष ओलीले आइतबार विहान प्रकाश दाहालको असामयिक निधनको खबरले आफू भावविह्वल भएको र एमाले तथा आफू स्वयंका तर्फबाट सिंगो परिवारमा समवेदना व्यक्त गरेको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवा, अध्यक्ष ओलील लगायतले त्यहाँ रहेको स्वर्गीय प्रकाश दाहालको तस्वीरमा पुष्पगुच्छा चढाई भाव पूर्ण श्रद्धाञ्जलि अर्पण गरेका थिए ।