९ असोज, काठमाडौं।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक आज बस्दै छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि पहिलो पटक प्राधिकरण निर्देशक समितिको बैठक बस्न लागेको हो ।Prachanda at delhi

प्राधिकरण निर्देशक समितिको अध्यक्ष प्रधानमन्त्री रहने कानुनी प्रावधान छ । आजको बैठकमा निजी घर पुनर्निर्माणका लागि भूकम्प प्रभावितलाई एक लाख रुपैयाँ थप गर्ने सम्बन्धमा छलफल हुने बताइएको छ ।

भूकम्प प्रभावितलाई पहिलो किस्ताको रकम उपलब्ध गराउनेसम्बन्धी ४५ दिने कार्य योजना र कार्य प्रगतिको अवस्थाबारे समीक्षा गर्ने कार्यसुचि पनि छ । बैठकमा प्राधिकरणको संगठनात्मक संरचना, कार्यप्रणाली र जनशक्ति व्यवस्थापन, प्राधिकरणकोे वार्षिक नीति कार्यक्रम तथा बजेटका विषयमा पनि छलफल हुनेछ ।

केही समयअघि प्रधानमन्त्रीले संसदमा आफ्ना कार्य योजना सार्वजनिक गर्ने क्रममा भूकम्प प्रभावितलाई एक लाख थप गर्ने घोषणा गरेका थिए ।

निर्देशक समितिबाट निर्णय पारित गरेर कार्यान्वयन गर्ने दाहालको तयारी छ । प्राधिकरणले समयमै अनुदान सम्झौता र पहिलो किस्तामा रकम वितरण गर्न नसकेकोमा प्रधानमन्त्रीले असन्तुष्टि जनाउँदै आएका छन् ।

प्राधिकरणको कामसंग असन्तुष्ट रहेका प्रचण्डले प्राधिकरणका सिईओ फेर्ने चर्चा पनि चलेको छ। यसो गरेमा ओली सरकारले गरेको अर्को एउटा निर्णय प्रचण्ड सरकारले उल्ट्याउने छ।