५ जेठ, चितवन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सफलता पूर्वक निर्वाचन सम्पन्न गरेर आफ्नो जिम्मेवारी पूरा भएको बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको केन्द्रीय कार्यालय भवन उद्घाटनका क्रममा प्रधानमन्त्रीले भने, ‘मैले मेरो जिम्मेवारी पूरा भएको महसुस गरेको छु ।’

प्रधानमन्त्रीले चुनावको नतिजा जे भएपनि आफैले जिते जस्तो भएको प्रतिकृया दिए । ‘आफूलाई कसले जित्छ, कसले हार्छ भन्ने नलागेको भन्दै प्रधानमन्त्रीले भने, ‘नेपाली कांग्रेसले जितेपनि मैले जितेको जस्तो हुने, एमालेले जिते पनि मैले नै जितेको जस्तो ठानेको छु, माओवादीले जित्दा त ठान्ने नै भएँ ।’


नतिजा जसको पक्षमा गएपनि राष्ट्रले र आम जनताले जितेको भन्दै प्रचण्डले यसमा गर्व गर्दै खुशी मनाउनु पर्ने बताए । उनले ठूलो अप्ठ्याराहरुसँग सामना गरेर मात्रै स्थानीय तहको पहिलो चरणको निर्वाचन गर्न सफल भएको बताए ।

उनले अहिले दोस्रो चरणको तयारमिा सरकाल जुटेको जानकारी दिए । ‘दोस्रो चरणको निर्वाचन सम्पन्न गर्ने दायित्व पनि त्यति नै गम्भीर हुनुपर्छ, उनले भने “अझ भन्ने हो भने पहिलोभन्दा अझ बढी गम्भीर जिम्मेवारी दोस्रो चरणमा छ ।’