काठमाडौं ।

३० वर्ष सँगै रहँदा पनि विभिन्न उतार चढाव र प्रमुख प्रतिस्प्रर्धीकोरुपमा रहेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अहिले नयाँ शक्ति बनाउन लागेका तत्कालीन एमाओवादी नेता बाबुराम भट्टराईबीच भएको भद्र सहमति तोडिन थालेको छ । एक अर्काको विषयमा नकारात्मक टिप्पणी नगर्ने २ नेताबीच भएको भनिएको भद्र सहमति तोड्दै दुवै नेता भयानक आक्रमणमा उत्रिन थालेका छन् । पछिल्ला अभिब्यक्ति हेर्दा लाग्छ प्रचण्ड बाबुराम एकले अर्कलाई खुइल्याउन जे पनि गर्न दुबै पक्ष तयार रहेको मनस्थितिमा देखिएका छन् ।

२ दिन अघि १२२ औँ माओ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले बाबुरामलाई लिनप्याओवादीको संज्ञा दिए । बाबुरामको पार्टी परित्याग दक्षिणवादी विसर्जनवाद भएको औल्याउँदै उनले बाबुरामले सधैं नेतृत्वमै आँखा लगाउने गरेको र अध्यक्ष बन्न नपाउने भएपछि पार्टी छोडेको दावी समेत गरे ।

serious prachanda speaking mic puspa kamal dahal

‘लिनप्याओलाई माओले म पछिको अध्यक्ष तपाई नै हो भन्दा दिन रात निन्द्रा लागेन, किनकी लिनप्याओलाई माओ कहिले मर्ने हो र आफु कहिले अध्यक्ष बन्ने हो भन्ने चिन्ताले सताएछ’, प्रचण्डले भनेका थिए । अध्यक्षकै लागि लिनप्याओले माओलाई मार्नेसम्मको योजना समेत बनाएको खुलासा गर्दै उनले बाबुरामलाई समेत भयंकर षडयन्त्रकारी करार गरे । ‘माओलाई मार्ने लिनप्याओको योजना अन्तत: असफल भयो र उनी आफै निस्केर सडकमा हिडे र मरे । ‘म नाम लिन चाहन्न, म यति भनेपछि तपाईहरुले बुझ्नुभयो ’ प्रचण्डले भनेका थिए । बाबुरामले पार्टी छोडेर हिँडेको समयमा प्रचण्डले गरेको यो लाक्षणिक आक्रमणले बाबुराम आहत भएको सोमबार राति प्रष्ट भयो । बाबुराम मध्यरातमा विष्फोट भए र उनले प्रचण्डलाई पनि उस्तै स्तरको आरोप लगाएका छन् ।

Dr Bhattari Press Meet Baburam

प्रचण्डले आफूमाथि लगाएका आरोपको खण्डन गर्न खोजेका बाबुरामले प्रचण्डको नाम नलिइकन आफू विरुद्ध गोयबल्स शैलीको प्रोपोगाण्डा फैलाउन खोजिएको दावी गरेका छन् । प्रचण्डप्रति लक्षित गर्दै बाबुरामले भनेका छन्, ‘केही मान्छेहरूले र खाशगरी हिजो संगै काम गरेका एकजना स्थापित नेता (बाबुरामले भन्न खोजेको प्रचण्ड) ले निरन्तर रूपमा हाम्रा विरुद्ध गोप्य र खुला दुष्प्रचार र चरित्रहत्या अभियान चलाइरहेका छन् । प्रचण्डमाथिको आक्रमणलाई अझै चुल्याउँदै उनले प्रचण्डलाई ‘बाहिर ‘माओवाद’ को नाउँ भित्र ‘खाओवाद’ को भद्दा अभ्यास गर्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई पतनको दिशामा डोर्याउन अग्रणी भूमिका खेल्ने ती महानुभाव’ लेखेका छन् ।

बैद्य र बाबुरामलाई दोष लगाइएकोमा प्रतिबाद गर्दै बाबुरामले प्रचण्डलाई सोधेका छन्, ‘२६ बर्षदेखि लगातार पार्टी प्रमुख भएर अहिले पार्टी र आन्दोलनलाई यो दुरावस्थामा पुर्याउनमा मुख्य भूमिका तपाईंको हुन्छ कि सहायक स्थानमा रहेका वैद्य र बाबुरामको हुन्छ?’

आफूलाई बाह्य शक्तिबाट परिचालित भनेका प्रचण्डलाई बाबुरामको प्रश्न छ, ‘तपाईंका पटकपटकका सिंगापुर, बैंकक, लण्डन भ्रमणहरू केकानिम्ति थिए र को कोसंग के के भएको थियो भन्ने जानकारी तपाईं जस्तो ‘देशभक्त’ले सोझा नेपाली जनतालाई गराउनु पर्दैन ?’

प्रचण्डलाई अहिले विदेशी दुत र एजेन्सीसँग सबैभन्दा बढी उठबस र लेनदेन गर्ने नेताकोरुपमा चित्रित गर्दै बाबुरामले यो भनाइलाई ‘आँखा जुधाएर खण्डन’ गर्न चुनौती दिएका छन् ।

आफूलाई भारतपरस्त भन्ने प्रचण्डलाई बाबुरामले सोधेका छन्, ‘संविधान जारी गर्ने पूर्वसन्ध्यामा आफैले विन्तिपत्र हालेर दिल्ली भ्रमण गर्नुको रहस्य के थियो र कुरो कहाँ रड्केर देश र जनताले यो कष्ट व्यहोर्नु परिरहेको हो भन्ने प्रश्नको चित्त बुझ्दो जवाफ नदिई कुरो चपाएर उम्कन पाइन्छ ?’

प्रचण्डमाथि उनले प्रधानमन्त्री बन्न शक्तिकेन्द्र गुहार्दै हिँडेको र ओली सरकारबाट दूध आउन्जेल चुस्ने र आउन छोडेपछि छाड्ने दाउमा रहेको गम्भिर आरोप लगाउँदै ‘बोगटी आयोग र शेरचन आयोगको प्रतिवेदन सार्वजनिक गर्ने आँट छ ?’ भनेर प्रश्न गरेका छन् ।

महासचिव महराप्रति लक्षित गर्दै उनले प्रचण्ड प्रधानमन्त्री बन्नका लागि ‘सांसद खरिद गर्न विदेशीसंग पचासौं करोड मागेको टेप सार्वजनिक’ भएको कुराको अहिलेसम्म किन कुनै चित्तबुझ्दो खण्डन नभएको जिकिर गरेका छन् ।

माओ दिवसमा प्रचण्डले नेता कसैको इच्छाले नजन्मिने र कसैको इच्छाले नसकिने भन्दै बाबुराम नेता बन्न नसक्ने बताएका थिए । आफूमाथिको आक्रमणलाई बाबुरामले भने फेसबुकबाट सक्ने जति तल ओर्लेर जवाफ दिएको विश्लेषण राजनीतिक बजारमा शुरु भएको छ ।

‘वैद्यले आफ्नो विवेकले पार्टी फुटाएनन अरुकै योजना लागे, भट्टराईलाई कसले फुटायो सबैलाई थाहा भएकै कुरा हो, विप्लवले एकीकृत क्रान्ति गर्छु भनेर भनेका छन, आफनो योजना भएको पो सफल हुनु ?’ प्रचण्डले केन्द्रिय समिति बैठकमा भनेका थिए ।

दशकौं सम्म संघै संघर्ष र राजनीतिक उतारचढावबाट गुज्रिएका नेपाली राजनीतिका २ खेलाडी प्रचण्ड बाबुरामको पछिल्ली वाकयुद्धले उनीहरु एक अर्काको पोल खोल्न नाङ्गोरुपमा उत्रिनु मात्र होइन । उनीहरुको गतिविधीले नेपाली उखान ‘हग्नेलाई भन्दा देख्नेलाई लाज’ भन्ने गैह्र राजनीतिक चरित्रको देखिएको छ ।

भारतलाई आश्वासन दिएको भए प्रचण्ड र देउवाले नै जवाफ दिनु पर्छ- डा. बाबुराम भट्टराई

मोहन वैद्य बाबुराम भट्टराई र विप्लवले अरुकै इसारामा पार्टी छोडेः प्रचण्ड

प्रचण्डको दस्ताबेजमा विशेष स्थान पाएका बाबुराम