“यिनीहरू सबै स्वास्थ्य क्षेत्रका पौराणिक कथाहरू हुन्!”

-कुशल श्रेष्ठ

हामी दिनहुँ निर्जलीकरण हुन नदिन र स्वस्थ रहनको लागि दिनमा कम्तीमा पनि ८ गिलास पानी पिउनैपर्छ भन्ने धारणाबाट गुज्रँदै आइरहेका छौँ। तर ‘इण्डियाना युनिभर्सिटी’का अमेरिकी बालविशेषज्ञ ‘एरन क्यारोल’का अनुसार भने यो तथ्यलाई समर्थन गर्नको लागि कुनै विज्ञान सामिल भएको छैन।

क्यारोलले स्वास्थ्य क्षेत्रका यस्तै मिथक तथ्यहरूलाई उजागर गर्दै एक अनुसन्धानपत्र र पुस्तक पनि लेखेका छन्। उनका अनुसार, सबै मानिसहरूले दिनमा ८ गिलास पानी पिउनै पर्छ भन्ने मिथक कुराहरू अझसम्म पनि हट्न सकेका छैनन्। त्यसैले अनुसन्धान पछि यो कुरालाई सबैसामुन्ने प्रष्ट पार्न उनले ‘न्यू योर्क टाइम्स’सँग मिलेर पत्रकार सम्मेलन गरेका थिए।drinking water

“तपाईँहरूले धेरै पटक सुने पनि थप पानी पिउँदैमा शरीर स्वस्थ हुन्छ भन्ने कुरालाई प्रमाण गर्ने कुनै वैज्ञानिक तत्वहरू छैनन्।”, उनी भन्छन्- “प्रशस्त पानी पिउनाले छालालाई निर्जलीकरण हुनबाट बचाउँछ र स्वस्थ अनि चाउरीपना आउन दिँदैन भन्ने कुराको कुनै प्रमाण पनि छैन।”

त्यसो भए, पानीको यो मिथक कथा कहाँबाट आयो त? सामान्यतया, यो कुराको मूख्य श्रोत भनेको सन् १९४५ मा खाद्य तथा पोषण समितिले गरेको सुझाव हो भन्ने विश्वास गरिएको छ। यसको अनुसार, “प्रौढ शरीरको लागि पानीको उपयुक्त मात्रा भनेको प्रतिदिन २.५ लिटर हुन जान्छ। यसलाई सामान्यतया भन्दा, प्रति क्यालोरी खानासँग १ मिलिलिटर पानी चाहिने गर्दछ।” तपाईँहरूले अनुमान गर्नुभयो होला कि, २.५ लिटर भनेको लगभग ८ गिलास हुन आउँछ, तर उक्त रिपोर्टबाट के कुरा छुटाइएको छ भन्दा, “यसको धेरै जसो मात्रा तयारी खानाहरूमा पनि पाइन्छ।”

वास्तवमा भन्नुपर्दा, तपाईँले दिनमा कति मात्रामा पानी पिउनुपर्छ भन्ने कुरा तपाईँको खानकीमा भर पर्दछ। यदि तपाईँले खाने खानामा पानीको मात्रा प्रशस्त छ भने धेरै पानी पिउनुपर्ने जरुरी हुँदैन। “फलफूल तथा साजसब्जीहरूमा पानी हुन्छ, जुसमा हुन्छ, बियरमा हुन्छ, पानी त चिया र कफीमा पनि हुन्छ।”, क्यारोल लेख्छन्- ‘तथापी, पेय पदार्थहरु मध्ये पानी नै उचित हुन्छ।’

तर चिया, कफी र अल्कोहलले हाम्रो शरीरलाई अझ निर्जलीकरण गर्दछ भनेर भन्नुभन्दा अगाडि यो जान्नु जरुरी हुन्छ कि, यी कुराहरू पनि मिथक हुन्। अमेरिकाकै एक चिकित्सक ‘हाइन्ज भाल्टिन’ भन्छन्, ‘प्रतिदिन ८ गिलास पानी पिउनुपर्छ भन्ने कुरामा कुनै वैज्ञानिक प्रमाण छैन र कफी, अल्कोहल जस्ता अन्य पेयपदार्थहरूले हाम्रो शरीरबाट पानी सोस्दछ भन्ने कुराको पनि कुनै प्रमाण छैन।’

तर, यी सबै कुराहरू स्वस्थ मानिसहरूमा मात्रै लागु हुन्छन्, जो गर्मी ठाउँमा बस्दैनन्, तर जो व्यक्ति अलि अस्वस्थ छ र गर्मी ठाउँमा बस्छन्, उनीहरूले भने प्रशस्त मात्रामा पानी पिउनुपर्ने पनि बताइन्छ। त्यस्ता व्यक्तिहरूले दिनमा ८ गिलास मात्रै होइन, सके त्यो भन्दा धेरे पिउँदा पनि फरक पर्दैन, तर धेरै पिएर शरीर स्वस्थ नै रहन्छ भन्ने पनि होइन, यसले त तिर्खा मात्रै मेट्ने काम गर्दछ।

अत्याधिक पानी पिउनाले मृगौलाको काम पनि बढ्न जान्छ। तिर्खा लागेको बेला प्रशस्त पानी पिउनुहोस्, तर स्वस्थ रहन नियम पालना गर्नै पर्छ भनेर आफूले सक्नेभन्दा धेरै पानी पिउनु हानीकारक पनि हुन जान्छ।