१ साउन, भक्तपुर ।

नेकपा एमालेले प्रतिनिधिसभा सदस्यहरुको संख्या बढाउने सम्बन्धमा भइहरेका प्रचारबाजी प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट भक्तपुरमा बसेको स्थाई कमिटि बैठकले समयमै निर्वाचन नगर्ने नियतबाट यस्तो कुरा प्रचारमा आएको बताएको छ ।

यसमा समयमै चुनाव नगर्ने षड्यन्त्र लुकेको ठहर गर्दै एमालेले यलाई पूर्णरुपमा अस्वीकार गर्ने निर्णय गरेको छ । साथै, निर्धारित समयमै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नका लागि संविधानले व्यवस्था गरे अनुरुप १ सय ६५ निर्वाचन क्षेत्र निर्धारण गर्न अविलम्ब निर्वाचन क्षेत्र निर्धारण आयोग गठनका लागि पनि एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।

आजदेखि सुरु भएको मतदाता नामावली अद्यावधिक कार्यमा सक्रियतापूर्वक लाग्न एमालेले मातहत कमिटीहरुलाई निर्देशित दिएको छ । साथै, सबै नेपाली नागरिकलाई सहज र सुविधाजनक ढंगले मतदाता नामावलीमा नाम समावेश गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
एमालेले स्थानीय तहको निर्वाचन सम्पन्न भएको तहमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि साउन महिनाभित्र अभिमुखीकरण तथा प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगगेश भट्टराईले जानकारी दिए ।

त्यसको मिति, स्थान र व्यवस्थापनको जिम्मा सम्बन्धित प्रदेश कमिटीहरुलाई दिइएको छ । स्थानीय तहका कार्ययोजना, बजेट, पार्टी र जनप्रतिनिधि संस्थाबीचको समन्वयलगायतका विषय समावेश गरी स्थानीय तहका जनप्रतिनिधिहरुका लागि मार्गनिर्देशन जारी गरिएको छ ।

यसअघि स्थानीय तह निर्वाचनका कारण रोकिएका मातहतका कमिटी, जनसंगठन र प्रवासी नेपाली मञ्चका अधिवेशनहरु (प्रदेश नम्बर २ बाहेक) खुल्ला गरिएको छ ।