१३ चैत, काठमाडौं।

रिर्जभ बैंक अफ इण्डिया नेपाली बैंकमा रहेको प्रतिबन्धित एक हजार र पाँच सय दरका भारतीय नोट साट्न सकारात्मक भएको छ ।

नेपाल राष्ट्र बैंक र रिर्जभ बैंक अफ इन्डियाका प्रतिनिधिबीच आज काठमाडौंमा भएको छलफलमा आरबीआई बैंकिङ प्रणालीमा रहेको सबै नोट सट्न सकारात्मक भएको हो । तर, सर्वसाधारणसँग रहेको ४ हजार ५ सय मात्रै साटिदिने उसको प्रस्ताव छ ।

भारतले नेपालमा ५ सय र हजार दरका गरी अधिकतम् २५ हजार रुपैयाँसम्म बोक्ने स्वीकृति दिएकाले सो बराबरको नोट समेटिदिनु पर्ने नेपाली पक्षले अडान राखेपनि भारतले ४ हजार ५ सयसम्म मात्रै साटिदिने प्रस्ताव गरेको हो ।

भारतीय पक्षले सटही सम्वन्धी समस्या धेरै लम्याउन नहुने भन्दै एक साताभित्र सक्न प्रस्ताव गरेपनि नसकिने भन्दै नेपाली पक्षले समय बढाउन आग्रह गरेको छ ।

सर्वसाधारणसँग रहेको भारतीय रुपैयाँ साट्ने विषयमा सोमबार पुनः वार्ता हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

वार्तामा भारतीय रिजर्भ बैक अफ इण्डियाका कार्यकारी निर्देशक दिपाली पन्त जोशीको नेतृत्वमा तीन सदस्यीय टोली र नेपालका तर्फबाट राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी नेतृत्वको टोली सहभागिता थियो ।

भारत सरकारले गत नोभेम्बर ८ तारिखमा १ हजार र ५ सयको नोटमा प्रतिवन्ध लगाएपछि नेपालमा समेत त्यसको प्रभाव परेको थियो । भारतमा प्रतिवन्धित नोट सटहीका लागि डिसेम्वर ३० सम्मको समय दिईएपनि नेपालमा भने लागू भएको थिएन । व्यवसायी र सर्वसाधरणसँग वाहेक वैंक तथा वित्तिय संस्थामा मात्रै ३ करोडको हाराहारीमा प्रतिवन्धीत १ हजार र ५ सय भारतीय नोट रहेको राष्ट्र वैंकको अनुमान छ ।