१४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले दुवै चरणमा हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको परिणाम एक साताभित्रै सार्वजनिक गर्ने जनाएको छ ।

आयोग प्रवक्ता नवराज ढकालले प्रत्यक्षतर्फको परिणाम साताभित्रै सार्वजनिक गर्न आवश्यक गृहकार्य थालिएको जानकारी दिए । ‘त्यसका लागि जनशक्तिको व्यवस्था गरिसकेका छौं’, ढकालले भने । यसैगरी, प्रदेशसभाको प्रत्यक्षतर्फको परिणाम पनि साताभित्रै ल्याउने आयोगको तयारी छ ।

स्थानीय निर्वाचनमा मतपरिणाम आउन हप्तौं लाग्दा सर्वसाधारणदेखि लिएर दलका नेता-कार्यकर्तासमेत आयोगप्रति रुष्ट बनेका थिए । आयोगले स्थानीय निर्वाचनबाट पाठ सिकेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम जतिसक्दो चाँडै ल्याउने गरी गृहकार्य थालेको हो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

आयोग प्रवक्ता ढकालका अनुसार २१ गते दोस्रो चरण निर्वाचन सकिएलगत्तै पाँच बजेबाटै पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाको मतगणना एकैपटक सुरु गरिनेछ । २१ गते मतदान भएर मतपेटिका विभिन्न स्थानबाट प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा आएलगत्तै दोस्रो चरणको गणना पनि थालिने उनले बताए । एकैपटक गणना थालेर साताभित्रै नतिजा सार्वजनिक गर्नेछौं,’ उनले भने ।

दोस्रो चरणमा निर्वाचन हुने अधिकांश जिल्ला सुगम रहेकाले मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा आइपुग्न धेरै समय नलाग्ने आयोगको विश्लेषण छ । आयोगद्वारा जारी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका २०७४ अनुसार मतगणना गर्ने स्थानको व्यवस्था, मतगणनाका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्था तथा मतगणनाको आवश्यक सुरक्षा गर्ने काम निर्वाचन अधिकृतले गर्नेछ । निर्वाचन अधिकृतले नै प्रमुख मतगणना अधिकारीको भूमिका निर्वाह गर्नेछन् र उनकै नेतृत्वमा अधिकृतस्तरको सहायक मतगणना अधिकारी, सुब्बास्तरको मतगणना सहायक, कम्प्युटर अप्रेटरसहित गणक तीन जना र सहायक गरी सात जना कर्मचारी मतगणनाका लागि परिचालित हुनेछन् ।

निर्वाचन अधिकृतले आवश्यकताअनुसार थप कर्मचारी माग गर्न सक्ने व्यवस्था छ । प्रत्येक मतगणना टोलीले गणना सुरु भएपछि प्रत्यक्षतर्फ प्रतिसिफ्ट कम्तीमा तीन हजार र समानुपातिकतर्फ १५ सय मतपत्र गणना गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार सकेसम्म प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको गणना सँगै गर्ने व्यवस्था मिलाइनेछ । त्यसपछि दुवैतर्फको समानुपातिकतर्फको गणना थालिने आयोग प्रवक्ता ढकालले बताए । ढकालले समानुपातिकतर्फ पनि दुईदेखि तीन सातासम्ममा पूरै नतिजा ल्याउने गरी जनशक्ति व्यवस्थापन गरिएको जानकारी दिए ।