२७ साउन, सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले २ नं प्रदेशमा स्थानीय निकायको निर्वाचनमा बढी बहुमत ल्याउन र आफ्नो बाहुल्यता बढाउन तीन ठूला दलले सत्ता र शक्तिको दुरुप्रयोग गरिरेहेको आरोप लगाएका छन् ।

कार्यकर्ता प्रशिक्षण, पार्टी प्रवेश र भेटघाटको सिलसिलामा राजविराज आउनुभएका उहाँले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा तीन ठूला दलले तेस्रो चरणको निर्वाचनमा प्रदेश नं. २ मा घेराबन्दी गरी निर्वाचन गराउन लागिएको बताए ।

अध्यक्ष यादवले तीन ठूला दलले प्रदेश नम्बर २ मा सत्ता शक्तिको जति दुरुपयोग गरे पनि अब हुने स्थानीय निर्वाचनमा आफ्नो पार्टी पहिलो स्थानमा रहने दाबी गरे ।

मधेसी जनताको हकहितका लागि राष्ट्रिय जनता पार्टी (राजपा) लागे पनि निर्वाचनमा नजाने दुःखद विषय भएको बताउँदै उनले वर्तमान सरकारले संविधान संशोधन गरेर भए पनि राजपालाई निर्वाचनमा सहभागी गराउनुपर्नेमा जोड दिए ।

साथै अध्यक्ष यादवले प्रदेशको निर्वाचन नगरी संसद्को निर्वाचनमा जानु ठिक नभएको बताउँदै प्रदेशको निर्वाचनपछि मात्र संसंद्को निर्वाचन गराउनुपर्नेमा पनि जोड दिए ।

जिल्लाको विभिन्न नदी र खोलमा आएको बाढीबाट पीडित व्यक्तिको समस्या स्थायीरुपले समाधान गर्न पनि अध्यक्ष यादवले सरकारसंग आग्रह गरे। रासस