३१ भदौ, काठमाडौं ।
प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले तेस्रो चरणमा भइरहेको प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको तयारी पुरा भइसकेको बताएका छन् ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर आएका प्रमुख निर्वाचन आयुक्त यादवले मौन अवधि शुरु भइसकेको र यस अवधिमा मतदाताहरु सोचेर, सम्झेर मत खसाल्ने बताए ।पत्रकारहरुसंगको कुराकानीमा मतदाताहरु मतदान गर्न आतुर रहेको बताउदै आयुक्त यादवले मतदाता नामावलीमा नाम भएका तर कुनै कारणले परिचयपत्र पाउन नसकेका मतदाताहरुले कुनै परिचय खुल्ने कागजात लिएर गए पनि मतदान गर्न पाउने बताए ।

मतदाताहरुलाई मतदानकेन्द्रमा परिचयपत्र बाँडने काम भइरहेको बताउँदै मतदाताहरुलाई परिचय लिन समेत उहाँले आग्रह गर्नुभयो ।मतदाताहरुलाई तोकिएको मतदान केन्द्रमा पुगेर कुनै धाक, धम्की बिना ढुक्कसंग मतदान गर्न आग्रह गदै आयुक्त यादवले सुरक्षाको व्यवस्थापन पनि चुस्तदुरुस्त गरिएको जानकारी गराए ।

मौन अवधिमा उम्मेदवारहरुले गरिरहेको कार्यको सराहना गर्दै प्रमुख आयुक्त यादवले आचारसंहिता विपरितको कुनै काम नभएकोमा उम्मेदवारहरु तथा मतदाताहरु धन्यवाद समेत दिए ।तेस्रो चरणको यो निर्वाचनमा आचारसंहिताको व्यापक उल्लंघन भएपनि कारवाही नभएको भनि सोधिएको प्रश्नमा आयुक्त यादवले आचारसंहिताको उल्लंघन कम भएको बताए ।