३ मंसिर, सुर्खेत ।
निर्वाचन नजिकिएसँगै प्रदेश नम्बर ६ मा मुख्यमन्त्री को बन्ने भन्ने चर्चा सुरु भएको छ । अहिलेसम्म कांग्रेसबाट जीवनबहादुर शाहीको मात्र गतिलो दाबेदारी भए पनि वाम गठबन्धनबाट धेरै नेताको दाबी छ ।

जीवनबहादुर शाही हुम्लाबाट प्रदेश सभाका उम्मेदवार छन् । उनी पूर्वमन्त्री पनि हुन् । सुर्खेतबाट प्रदेश सभामा उम्मेदवार बनेका तप्तबहादुर विष्ट पनि मुख्यमन्त्रीका दावेदार हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।

वाम गठबन्धनबाट मुख्यमन्त्रीका दाबेदार मानिएका माओवादी नेता शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन् । उनीहरू प्रतिनिधिसभामा जाने भएपछि जुम्लाका नरेश भण्डारी र कालिकोटका महेन्द्र शाही मुख्यमन्त्रीको चर्चामा छन् ।

जुम्लाबाट प्रदेश सभामा उम्मेदवारी दिएका भण्डारीको मुख्यमन्त्रीको चर्चा छ । उता कालिकोटका शाहीले आफू मुख्यमन्त्री हुने औपचारिक निर्णय नै भइसकेको दाबी गरेका छन् । शाहीले मनोनयन दर्तापछि नै सार्वजनिक रूपमा आफू नै प्रदेश नम्बर ६ को मुख्यमन्त्री हुने दाबी गरेका थिए ।

त्यसो त, माओवादीले जाजरकोटका नेता मायाप्रसाद शर्मालाई प्रदेशतर्फै समानुपातिक उम्मेदवार बनाएको छ । उनको पनि मुख्यमन्त्री हुने चर्चा छ । वाम गठबन्धनबाट एमाले वा माओवादीले मुख्यमन्त्री पाउने भन्ने सहमति बनेको छैन । एमालेको भागमा परे, सुर्खेतका यामलाल कँडेल पनि मुख्यमन्त्रीको दाबेदार हुन् । पूर्वमन्त्री कँडेल एमाले पोलिटब्युरो सदस्यसमेत हुन् ।

अर्का एमाले नेता प्रकाश ज्वाला पनि सल्यानबाट प्रदेश सभाका उम्मेदवार छन् । उनी मुख्यमन्त्री हुनकै लागि प्रदेश सभामा उम्मेदवार बनेको चर्चासमेत छ । तर, प्रदेश ६ को मुख्यमन्त्री आफूहरूले पाउनुपर्ने माओवादीको दाबी रहेको स्रोतको भनाइ छ ।

गत स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर ६ मा तीनवटै दलले हाराहारीमा जित हासिल गरेका छन् । ७९ स्थानीय तहमध्ये एमालेले २७ र माओवादी र काग्रेसले २५–२५ तह जितेका छन् ।