७ भदौ, काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधिसभा चुनाव एकै चरणमा गर्ने निर्णय गरिसकेपनि कार्यवाहक प्रधानमन्त्री विजय गच्छदारले भने चुनाव दुई चरणमा हुने बताएका छन् ।

गच्छदारले मंसिर १० गते पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव हुने दाबी गरे । सरकारले दोस्रो चरणको चुनावको मिति तत्कालै घोषणा गर्ने पनि उनले खुलासा गरे ।

पहिलो चरणमा हिमाल र पहाड तथा दोस्रो चरणमा तराईमा निर्वाचन हुने उनको जिकिर थियो । यहि अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगलाई तयारी थाल्न निर्देशन दिइसक्नुभएको छ, उनले खुलाए । निर्वाचन आयोगले पनि एकैचरणमा चुनाव गर्न नसकिने भन्दै आएको छ ।

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष समत रहेका गच्छदारले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै मंसिर २५ भित्र दोस्रो चरणको चुनाव सक्नेगरी तयारी भइरहेको जानकारी दिए ।