९ असोज, काठमाडौं । तीन चरणमा सम्पन्न स्थानीय तह निर्वाचन परिणामले संविधान निर्माण र गणतान्त्रिक आन्दोलनका सहयात्री दलहरूको पक्षमा दुई तिहाइभन्दा बढी जनमत रहेको देखाएको छ । गणतान्त्रिक आन्दोलन र संविधान निर्माणका सहयात्री दलले ८८ प्रतिशतभन्दा बढी स्थान जितेका छन् ।

तीन चरणमा सम्पन्न निर्वाचनअन्तर्गत संविधान पक्षधर दलले कुल ७५३ मध्ये ६६४ स्थानीय तहमा जित हासिल गरेका हुन् । पहिलो र दोस्रो चरण निर्वाचन भएका प्रदेश १, ३, ४, ५, ६ र ७ को परिणाम यसअघि नै आइसकेको छ भने तेस्रो चरणमा असोज २ गते निर्वाचन भएका प्रदेश २ का जम्मा ८ तहको परिणाम आउन बाँकी छ ।

गणतन्त्रपछिको पहिलो स्थानीय तहको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल एमाले एक्लैले सबैभन्दा बढी २९३ स्थानीय तहमा जित हासिल गरेको छ भने सत्ताको नेतृत्व गरेको कांग्रेस एमालेभन्दा झन्डै ३० स्थानले पछाडि परेको छ । पहिलो र दोस्रो निर्वाचनमा दोस्रो बनेको उसले तेस्रो चरणमा भने झिनो बहुमत पाएको छ । प्रदेश २ को निर्वाचनबाट पहिलो र दोस्रो चरणको घाटा पूर्ति गर्ने उसको रणनीति असफल भएको छ । जबकि उसले प्रदेश २ लाई आफ्नो आधार क्षेत्रका रूपमा लिँदै आएको थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

राष्ट्रवादी आन्दोलनको कडीका रूपमा मधेसमा बहुमत ल्याएर नयाँ रेकर्ड तोड्ने लक्ष्यसहित प्रदेश २ को चुनावमा होमिएको एमाले पाँचौं स्थानमा खुम्चिएको छ भने माओवादी, संघीय समाजवादी फोरम नेपाल र राजपाको संविधान संशोधन र मधेस आन्दोलन पक्षधर जनमतलाई पक्षमा पार्दै पहिलो हुने रणनीति असफल भएको छ । यद्यपि, सत्ताको दोस्रो घटक माओवादी केन्द्र र फोरम नेपाललाई प्रदेश २ को निर्वाचनले सबैभन्दा बढी फाइदा पुगेको देखिएको छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले परिवर्तन र संविधान निर्माणका सहयात्री दलले करिब ८८ प्रतिशत जनमत पाउनु संविधान कार्यान्वयनको सुनिश्चितताका लागि सबैभन्दा ठूलो उपलब्धि रहेको बताए । सबै प्रकारका संविधानविरोधी शक्ति केन्द्र र दलहरू परास्त भएको उनको भनाइ छ । राज्य र अन्य सबै दल लाग्दा पनि एमालेलाई पहिलो दल हुनबाट रोक्न नसकेको उनले बताए । ‘राज्यको ज्यादती र प्रदेश २ मा निषेधका बाबजुद एमालेले आमजनताको समर्थन पायो । हामीले यो परिणामलाई सकारात्मक रूपमा लिएका छौं’, उनले भने ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका कृषिमन्त्री रामकृष्ण यादवले प्रदेश २ मा आफूहरूले पाएको मत अपेक्षाअनुसार नभएको बताए । ‘नेपाली-नेपालीबीच विभाजन गराउने र खोक्रो राष्ट्रवादको नारा दिनेहरूविरुद्ध मधेसी जनताले मतदान नगर्ने हाम्रो बुझाइ सही भएन’, उनले भने, ‘अर्कोतर्फ कांग्रेसभित्रको कलह र चुनावी गृहकार्यसमेत पर्याप्त कार्यान्वयनमा आएन ।’

राजपा अध्यक्ष महन्थ ठाकुरले स्थानीय तह निर्वाचनमा आफूहरूले भाग लिए पनि नयाँ संविधान स्वीकार नगरेको बताए । ‘हामीले चुनावमा भाग लियौं भनेर सत्तापक्ष खुसी मनाइरहेको छ तर हामीले उपस्थिति जनाएका मात्रै हौं । स्वीकार गरेका छैनौं । संविधानको विरोध छाड्दैनौं’, उनले भने, ‘यद्यपि, राजपाले पाएको जनसमर्थनका लागि आमजनतालाई हामी धन्यवाद दिन्छौं ।’ पार्टीको केही दिनपछि बस्ने पदाधिकारी बैठकले चुनावी समीक्षा र आगामी दिनको भूमिकाका विषयमा निर्णय गर्ने उनले जानकारी दिए ।

राजपालाई कडा टक्कर दिँदै स्थानीय तहमा विजयी भएको फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यो जितलाई सामान्य रूपमा लिएको बताए । ‘ राज्यशक्तिको दुरुपयोग र चौतर्फी प्रहारका बाबजुद यो सफलता पाउनुमा आमजनता धन्यवादका पात्र छन्’, उनले भने, ‘अधिकार प्राप्तिको संघर्षलाई हामी अझै घनीभूत रूपमा अगाडि बढाउँछौं ।’ आमजनताको भावनाअनुसार प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समग्र तयारीमा केही दिनभित्रै जुट्ने जानकारी फोरम नेपालका अध्यक्ष यादवले दिए ।

१. पहिलो चरण निर्वाचन (प्रदेश ३, ४ र ६) : २८६ स्थान
एमाले-१२५, कांग्रेस – १०५ र माओवादी -४७, फोरम नेपाल -१, राप्रपा -१
२. दोस्रो चरण निर्वाचन (प्रदेश २, ५ र ७) : ३३४ स्थान
एमाले-१५१, कांग्रेस-१२२ र माओवादी – ३८, फोरम नेपाल- ८, राजपा- १, फोरम लोकतान्त्रिक – ६, राप्रपा -४
३. तेस्रो चरण निर्वाचन (प्रदेश २) : १३६ स्थान
कांग्रेस – ३७, एमाले – १७, माओवादी – २१, संघीय फोरम -२४, राजपा -२४, लोकतान्त्रिक फोरम- ३ (८ स्थानको बाँकी)