१८ साउन, चितवन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडक निर्माण चाँडो सक्न निर्देशन दिएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको आज स्थलगत अनुगमन निरीक्षण गर्दै प्रधानमन्त्री देउवाले निर्माण चाँडोभन्दा चाँडो सक्न सडक आयोजनाका कर्मचारी र निर्माणमा संलग्न ठेकेदारलाई निर्देशन दिएका हुन् ।

‘यो लाइफ लाइनको बाटो हो, जनताले धेरै दुःख पाएका छन् । निर्माण चाँडो सक्नुपर्छ, उनले भने, ‘सडक निर्माण गर्न सरकारले गर्नुपर्ने सहयोग गर्छ ।’ प्रधानमन्त्री देउवा बिहान १० बजे काठमाडौँदेखि हेलिकप्टरमा भरतपुरको आँपटारी पुगेका थिए ।

उनले आँपटारीदेखि दासढुंगासम्मको करिब २० किलोमिटर सडकखण्डको स्थलमार्ग हुँदै निरीक्षण तथा अनुगमन गरेका थिए ।

दासढुंगामा प्रधानमन्त्री देउवाले सडक आयोजना र निर्माणमा संलग्न ठेकदारसँग छलफल गरेका थिए । सो अवसरमा दुवै पक्षले अहिलेसम्म भएको प्रगतिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्रीका साथमा सडक अनुगमन तथा निरीक्षणका लागि पुगेका भौतिक योजना तथा पूर्वाधारमन्त्री वीरबहादुर बलायरले सडक निर्माण सक्न सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्ने बताए ।