२९ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहित प्रतिपक्ष एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले डा.गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन ।

शनिबारसाँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री देउवाले डा.केसीको अनशनको विषयमा विशेष चासो दिदै डाकेको बैठकले केसीलाई अनशन तोड्न आग्रह गरेको हो । बैठकमा तीन दलका शिर्ष नेताहरु सहित शिक्षा र स्वास्थ्य मन्त्री, सरकारले गठन गरेको वार्ता समिति, विधेयक छलफल भैरहेको संसदको महिला, वालवालिका तथा समाज कल्याण एवं जेष्ठ नागरिक समितिका सभापति र सदस्यहरु सहित केही विज्ञ सहभागि बैठकले केसीलाई तत्काल अनशन तोड्न आग्रह गर्दै उनको मागको स्प्रिट अनुसार चिकित्सा शिक्षा ऐन अघि बढाउने समझदारी बनाएको हो ।

बैठकले डा.केसीले माग गरे अनुसार संसदमा विचाराधिन रहेको चिकित्सा शिक्षा विधेयकलाई माथेमा आयोगको प्रतिवेदन र डा.केसीले उठाएका कतिपय जायज माग अनुसार अघि बढाउने बैठकले समझदारी गरेको छ । बैठकले संसदलाई बाहिरको दवावबाट नभई जायज मागलाई संवोधन गरेर अघि बढाउने सहमति पनि गरेको छ ।

बैठकमा प्रधानमन्त्रीले विधेयकको दफा १२ र १३ लाई यसअघिको सरकारले प्रस्ताव गरे अनुसारनै अघि बढाउदा चिकित्सा क्षेत्रको गुणस्तर बृद्धि हुनुका साथै सुधार हुने धारणा राखेका थिए ।

बैठकमा प्रतिपक्ष दलका नेता ओली, माओवादी अध्यक्ष दाहाल, शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल, सरकारले गठन गरेका वार्ता समिति, डा. भगवान कोइराला, सांसद गगन थापा र समितिकी सभापति रञ्जु झा र उक्त समितिका सदस्यहरु सहभागि थिए ।