१३ मंसिर काठमाडौं ।
दलहरुबीच संवादहिनता भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसमा जारी आन्दोलन समाधान गर्नको लागि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, प्रतिपक्ष दल कांग्रेस र सत्तापक्ष दलहरुलाई वार्तामा बोलाएका छन । तराई मधेसका समस्या जटिल बन्दै गएपछि प्रधानमन्त्री ओलीले सोमबार ११ बजे बालुवाटारमा वार्ता बोलाएका हुन् ।

प्रधानमन्त्रीले त्रिपक्षीय बैठक बोलाएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार प्रमोद दाहालले बताए । उनले भने,‘ एक सय दिनदेखि तराई मधेसमा जारी आन्दोलनको समाधानको लागि प्रधानमन्त्रीले त्रिपक्षीय वार्ता बोलाउनुभएको हो ।’

Police Day PM KP Oli

शनिवार एमाओवादी अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसका सभापति सुशील कोइरालासंग छलफल गरेर प्रधानमन्त्री ओलीलाई त्रिपक्षीय छलफल आह्वान गर्न आग्रह गरेका थिए । मोर्चाले वार्ताको लागि प्रधानमन्त्री ओली गम्भीर नभएको बताइरहेको बेला त्रिपक्षीय छलफल हुन लागेको हो ।

सीमाकंन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तथा समानुपातिक समावेशताको माग राख्दै तराई मधेसमा तीन महिनादेखि चल्दै आएको आन्दोलनलाई कारण देखाउदै भारतले दुई महिनादेखि अघोषित रुपमा नाकाबन्दै गर्दै आएको छ ।