७ साउन, काठमाडौं ।

काठमाडौं उपत्यकामा भैरहेको सडक विस्तार कार्यमा भैरहेको ढिलासुस्तीप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री कार्यालयले कारवाहीको चेतावनी दिएको छ । प्रधानमन्त्री कार्यालयले सिनामंगल भिमसेनगोला मैतीदेवी डिल्लीबजार रत्नपार्क सडक विस्तार कार्य बारम्बार ताकेता गर्दा पनि समयमा सम्पन्न गर्नेतर्फ सम्बन्धित निकायले ध्यान नदिएको भन्दै कारवाहीको चेतावनी दिएको हो ।

प्रधानमन्त्री कर्यालयका सचिव शान्तराज सुवेदीले सडक विभागका महानिर्देशकसहित काठमाडौं उपत्यका सडक विस्तार आयोजना र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीलाई बुधबार कार्यालयमै बोलाएर जिम्मेवार निकायमाथि कारवाही हुने चेतावनी दिए ।

simhadarbar

निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनीको लापर्वाहीका कारण काम अधुरो रहेको पाइएमा ठेक्का रद्द गरिने तथा सरकारी निकायका कारण प्रगति हासिल हुन नसकेको भए जिम्मेवार निकायका प्रतिनिधिको कार्यसम्पादन मूल्यांकन गरी कारवाही गरिने सुवेदीले बताएका छन् ।

समयमा सडक विस्तार कार्य सम्पन्न नहुँदा सर्वसाधारणले दुख पाएको भन्दै सचिव सुवेदीले यथाशीघ्र कार्य सम्पन्न गर्न गराउनसमेत सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।