१० पुस, काठमाडौ।

आज जिसस क्राइष्टको जन्म दिन अथात क्रिसमस डे । नेपालमा पनि क्रिस्चियन समुदायहरुले विभिन्न कार्यक्रम गरेर मनाउने गरेका छन् । नेपालमा विगत ६० बर्षदेखि क्रिसमस डे मनाउने गरेको पाइन्छ । नेपालमा झण्डै तीस लाख क्रिस्चियन रहेको अनुमान गरिएको छ । मानवमुक्ति, दमन, शोषण, अन्याय र अत्याचारको विरुद्ध खरो रुपमा उभिएका जिसस क्राइष्टलाई नेपालका क्रिस्चियन समुदायले पनि आफ्नो आस्थाको रुपमा मान्दै आएका छन् । गत बर्ष क्रिस्चियन समुदायलाई मात्र विदा दिने निर्णय गरेको सरकारले यस बर्ष सार्वजनिक विदा दिने निर्णय गरेको छ । यसै सन्दर्भमा नेपालमा क्रिस्चियन समुदायको अवस्था, क्रिसमस डे मनाउनुको कारण लगायतको विषयमा केन्द्रित रहेर राष्ट्रिय ख्रीष्टिय महासंघका सह–अध्यक्ष पास्टर राजु सुन्दाससँग नेपाली हेडलाइन्सले गरेको कुराकानी:pastor-raju-sundas-1

पास्टर राजु सुन्दास
सह–अध्यक्ष, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल
नेपालमा क्रिसमस डे मनाउने सुरुवात कहिलेबाट भयो ?

यशु ख्रीष्टले वास्तविक मानवको अवतार लिएर पृथ्वीमा आएको दिनलाई हामी क्रिसमस भन्छौ । जसलाई हामी यशुको जन्म दिन भनेर पनि चिन्ने गछौं । नेपालमा नेपालीहरुले यशुलाई विश्वास गर्न सुरु गरेको साठी बर्षको इतिहास रहेको छ । नेपालमा अहिले क्रिस्चियनहरुको संख्या बृद्धि भएर गएको छ । नेपालमा क्रिसमसको दिन आज सबै क्रिस्चियनहरुले आ–आफ्नो औकात अनुसार क्रिसमस मनाउने गरेका छन् । तर क्रिसमसको वास्तविक अर्थ बुझेर मनायौ भने मात्र अर्थपूर्ण हुन्छ ।

तर क्रिसमसको अवसरमा रुख सजाउने, बत्ती बाल्ने, भोज खाने सबै कुराहरु क्रिसमसभित्र पर्दैन । किनकी हाम्रो धर्मशास्त्र बाइबलले क्रिसमस कसरी मनाउने भन्ने बारेमा यथार्थ प्रमाण दिएको छैन् । तर क्रिसमस मनाउदा यशु ख्रीष्टलाई आदार पुग्ने गरी मनाउनु पर्छ ।

नेपालमा क्रिसमस सबैले मनाउने पर्वको रुपमा विकास हुँदै गएको हो ?

नेपालको सन्दर्भमा क्रिस्चियनहरुले भन्दा अरु धर्म मान्नेहरुले निकै तडकभडक गरी मनाउने क्रम सुरु भएको छ । क्रिस्चियनहरुले मण्डली र चर्चमा यशुको प्रशंसा गर्ने आ–आफ्नो औकात अनुसार मनाउने गरेका छन् भने अन्य धर्म मान्नेहरुले पाँचतारे होटल, दरबारमार्गमा विशेष खर्च गरेर धर्म मनाई रहेका छन् । अन्य धर्म मान्नेहरुले क्रिसमसको वास्तविक अर्थ नबुझिकन यसलाई पर्वको रुपमा मनाउदै आएका छन् । यशुलाई श्रद्धा नगरिकन यशुको जन्मको उदेश्य नबुझिकन चाडपर्वको रुपमा मनाइरहनुभएको छ । क्रिसमसलाई अहिले होटल र रेष्टुरेन्टहरुले व्यापार प्रयोजनको रुपमा पनि मनाइरहेका छन् ।

तडकभडक गरेर मनाउनु राम्रो हो त ?

यशु जन्मिएको दिनलाई नै हामी क्रिसमस भन्छौ । किन आउनु भो ? भन्ने आधार भनेको बाइबल हो । बाइबलमै क्रिसमस कसरी मनाउनु पर्छ भनेर स्पष्ट उल्लेख नभएको हुँदा हामी क्रिसमस यसरी मनाउनु पर्छ भन्ने अवस्थामा छैनौ । तर क्रिसमस त्यसले मनाउन सक्छ जसले यशुलाई चिनेको हुनुपर्छ । कतिले पर्वको रुपमा देखासिखी गर्ने गरी मनाउदै आएका छन् । किनकी मानिसले जसरी बुझेको छ त्यसरी नै मनाउने हो ।

नेपालमा क्रिस्चियन समुदायको संख्या कति छ ?

pastor-raju-sundas-2सरकारको तथ्याङ्क आफै खालको छ । नपाली क्रिस्चियनहरुले पनि वास्तविक रुपमा क्रिस्चियनहरुको संख्या कति छ भनेर अध्ययन गरेको अवस्था छैन् । तर मण्डलीको संख्या नेपाल अधिराज्यभर रहेका धर्मगुरुहरुले दिएको तथ्याङ्क अनुसार तीस लाख क्रिस्चियनहरुको जनसंख्या रहेको छ । अब राष्ट्रिय ख्रीष्टियन महासंघले नेपालका क्रिस्चियनहरुको वास्तविक जनसंख्या कति छ भनेर छिट्टै तथ्याङ्क संकलनको कामलाई अगाडि बढाउँछ । देशभर ८ हजार पाँच सय मण्डलीको संख्या रहेको तथ्याङ्क हामीसँग छ ।

नेपालमा रहेका क्रिस्चियन समुदायहरु नै विभाजित छ नि ?

जसरी संसारमा सगरमाथा एउटै छ । त्यसैगरी यशु ख्रीष्ट पनि एकै हुनुहुन्छ । परमेश्वर दुईवटा हुनुहुन्न । आ–आफ्नै मत क्रिस्चियन जगतभित्र पनि छ । हामीले मान्छेको मत परिवर्तन गर्नतिर लाग्नु भन्दा पनि प्रभु यशु एक हुनुहुन्छ । उहाँलाई पछ्याएर अगाडि बढने हो भने विमति हुनु पर्ने केही पनि कुरा छैन् ।

नेपालमा क्रिस्चियनहरुले जबरजस्ती धर्म परिर्वतन गराए भन्ने आरोप छ के भन्नुहुन्छ ?

हामीले विश्व परिवेशलाई हेर्ने हो भने नेपाल अझै पनि गरिब मूलुक हो । अशिक्षा पनि व्याप्त छ । हामीले जबरजस्ती पैसा दिएर प्रलोभनमा पारेर धर्म परिवर्तन गरायौँ भन्ने आरोप हामीमाथि लाग्दै आएको छ । हामीले आजको दिनसम्म कसैलाई आर्थिक प्रलोभन दिएर ललाई फकाई धर्म परिवर्तन गर्ने काम गरेका छैनौ । बाइबलले के भन्छ भने–आफ्नो छिमेकीलाई आफूझैँ प्रेम गर चाहे त्यो जुनै धर्ममा आस्था राख्ने होस, साँचो क्रिस्चियनले सबै समुदायको मानिसलाई बराबर सम्मान व्यवहार र माया गर्नुपर्ने हुन्छ ।’ हामीले अस्पताल बनाउने, भुकम्प पीडितलाई सहयोग गर्ने, दुःखमा परेका मानिसहरुलाई पालनपोषण गर्ने काम गरेका छौ । परमेश्वरको बचनलाई पालना गर्दाखेरी कतिपय मान्छेहरुले धर्म परिर्वत गर्यो भन्ने दोष हामीमाथि लाग्दै आएको छ । यो सत्य होइन ।

प्रेम गर्दा दाजुभाई राष्ट्रलाई माया गरेर सामाजिक काममा सहभागी हुँदा त्यो दोष लगाउनेलाई केही भन्ने सकिन्न । दोष लगाउदैमा सबै कुरा प्रमाणित छ भन्ने पनि होइन । क्रिस्चियनहरुको तर्फबाट पनि भुल त्रुटी भएको हुन सक्छ । तर बाइबल अनुसार कसैलाई प्रलोभन पारेर ललाई फकाई गरेर धर्म परिवर्तन गर्नु बाइबलको सन्देश होइन ।

गर्त बर्ष क्रिस्चियन समुदायलाई मात्र विदा दिने निर्णय भएको थियो । यस बर्ष राष्ट्रिय पर्वको रुपमा विदा दिने निर्णय गराउन कसरी सफल हुनुभयो ?

क्रिसमसलाई राष्ट्रिय पर्वको रुपमा सार्वजनिक विदाको घोषणा गर्नुको पहिलो कारण प्रभु यशुको कृपा हो । किनकी संसार माथिबाट नै चल्ने गर्छ । हामी परम्मेश्वलाई धन्यवाद दिन चाहन्छौ । दोस्रो नेपाल सरकार हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई मुरीमुरी धन्यवाद दिन चाहन्छौ । सरकारले राष्ट्रिय पर्वको रुपमा विदा दिने निर्णयले सबै धर्म मान्ने समुदायलाई समान व्यवहार गर्छ भन्ने सन्देश दिएको छ । जसरी पर्वको विदा दिएको छ । हाम्रो समुदायको जल्दोबल्दो मुद्दालाई पनि ध्यान दिएर सरकारले समाधान गर्छ भन्ने विश्वास लिएका छौं । हामी सरकारलाई गाली गर्ने, आन्दोलन गर्ने तोडफोड गर्ने गैर चरित्र देखाउदैनौ । हामी संवाद मार्फत समस्याको समाधान गर्न पहल गछौं ।

अन्तिममा के भन्न चाहनुहुन्छ ?

यो क्रिसमको पावन अवसरमा देशमा जारी भएको संविधान सफलतापूर्वक कार्यान्वय भएर देश समृद्धिको गतिमा अगाडि बढ्ना सकोस । एक नेपालीले अर्को नेपालीलाई प्रेम र आदर गर्ने संस्कार बलियो होस । सबैले दम्भ घमण्ड त्यागेर आफ्नो देशलाई माया गरौं । राजनीतिक पार्टीहरुलाई दोष नलगाऔ । कुरा नकाटौ । हामी सबै मिलेर यो देश बनाउनु पर्छ । धर्मको कतिवटा कुराहरु छन ति कुराहरुमा पनि आडम्बरी सोचहरुलाई त्यागेर हामी सबै जना देश बनाउनेतिर बनाउन लागौं ।