१३ मंसिर, साउदी अरब।

सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित एवम् कामदारमैत्री बनाउन नसक्दा नेपाली कामदारले विभिन्न समस्या झेल्नुपरेको साउदी अरबमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।

वैदेशिक रोजगारीमा देखा परेका विकृति र विसङ्गतिप्रति राज्य गम्भीर नहुँदा प्रवासमा रहेका लाखौँ नेपाली श्रमिकले दुख भोग्नुपरेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका हुन् । साउदी अरबसँग श्रम सम्झौता हुन नसक्दा नेपाली श्रमिक समस्यामा परेको भन्दै उनीहरुले नेपाली श्रम र सीपको उचित मूल्याङ्कनसहित श्रम सम्झौता हुनुपर्नेमा जोड दिएका छन् ।

साउदी अरबमा क्रियाशील डेढ दर्जनभन्दा बढी सङ्घ संस्थाको संयुक्त आयोजनामा शुक्रबार साउदीको दमाममा सम्पन्न भएको ‘प्रवासी श्रमिकका समस्या र समाधान’ विषयक अन्तक्र्रियामा बोल्ने वक्ताले सेवा सुविधालाई ध्यानमा राखेर जति सक्दो छिटो श्रम सम्झौता गर्नुपर्ने सुझाव दिए । साउदीमा कार्यरत अधिकांश नेपाली कामदारले अझै पनि सम्झौता अनुरुप न्यूनतम तलब, सेवा सुविधासमेत पाउन नसकेको गुनासो गरेका छन् । प्रवासी श्रमिकले भोग्नुपरेका समस्याका विषयमा राज्य गम्भीर नभएकै कारण नेपाली कामदारले दिनप्रतिदिन पीडा खेप्नु परेको उनीहरुको भनाइ छ ।

कमजोर सरकारी नीति र मेनपावर कम्पनीको लापरबाहीका कारण सम्झौता अनुसारको काम नपाउनु, तोकिएको अवधिभन्दा बढी काम गर्नुपर्ने, करार अवधि सकिए पनि स्वदेश फर्कन नपाउने, बिमा अवधिमा समस्या, मानसिक तथा शारीरिक यातना, काम गर्ने सिलसिलामा मृत्यु भएकाको शव पठाउन ढिलाइ हुनेलगायत समस्या साउदीमा व्याप्त रहेपनि समाधानका लागि सम्बन्धित निकायले ध्यान नदिएको उनीहरुको आरोप छ ।

नेपाली कामदारका लागि ठूलो श्रम बजारको रुपमा लिइएको साउदी अरबसँग श्रम सम्झौता भएको खण्डमा हाल देखापरेका सबै खाले जटिल समस्या समाधान हुने सहभागीले विश्वास व्यक्त गरे । श्रमिकको समस्याप्रति साउदीमा रहेको नेपाली दूतावासले चासो नदिएको भन्दै सहभागीहरुले दूतावासको कार्यशैलीप्रति कडा आलोचना गरेका थिए । आपतविपतमा परेका नेपालीको उद्धारमासमेत दूतावासले सक्रियता नदेखाएको गुनासो गर्दे उनीहरुले कार्यशैली सुधार गर्न सुझावसमेत दिए ।

सहभागीहरुले दूतावासमा टेलिफोन सम्र्पक गर्दा फोन नउठ्ने समस्या रहेको भन्दै सहज सम्र्पकको व्यवस्था मिलाउन आग्रह गरे । साउदीमा कार्यरत अधिकांश घरेलु महिला कामदार मानसिक एवम् शारीरिक यातनाबाट पीडित हुनुपरेको भन्दै घरेलु महिला कामदार पठाउने प्रक्रिया पूर्णरुपमा बन्द गनुपर्ने बताए । कार्यक्रममा उठेका जिज्ञासामाथि स्पष्ट पार्दै साउदीका लागि कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माले नेपाली श्रमिकमा देखा परेका समस्या समाधान गर्न दूतावासले प्रयास गरिरहेको बताए। उनले देशबीच श्रम सम्झौताका लागि आवश्यक पहल भइरहेको बताए ।

“साउदी अरबको आफ्नै नीति नियम र ऐनका कारण कम्तीमा तीन महिना कानुनी प्रक्रिया पूरा गर्न लाग्ने भएकाले ज्यान गुमाएका नेपाली श्रमिकको शव पठाउन ढिलाइ हुनेगरेको छ” उनले भने । नेपाली कामदारका तलब, बीमालगायत अन्य सेवा सुविधा लागू गराउन दूतावास गम्भीर रहेको शर्माको भनाइ थियो । कुनै पनि समस्या दूतावाससम्म आएको खण्डमा समाधानका लागि आफू प्रतिबद्ध रहने उनले बताए।

श्रम सहचारी कृष्णप्रसाद दवाडीले साउदी अरबसँग श्रम सम्झौता नभएकै कारण नेपाली कामदारले समस्या झेल्दै आएको बताए । कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य यास्मिन बेगम, समाजसेवी राजु शैयाद, प्रवासी नेपाली मञ्चका बालाराम गिरी, स्याङ्जा सहयोग समाजका मोहन बिएसके, जनप्रगतिशील मोर्चाका मीनराज नाथ, नेपाल टे«ड युनियन महासङ्घ जिफन्टका राज तामाङ, प्रवासी नेपाली सेवा समाजका मोहन अर्याल, नेपाल मगर सङ्घका रुद्र शारु, फेन्ड्स अफ नेपालका श्रीकृष्ण श्रेष्ठ, रोशन श्रेष्ठ, अनुप नेपालीलगायतले प्रवासी श्रमिकका समस्या समाधानको एक मात्र विकल्प श्रम सम्झौता भएकाले जति सक्दो छिटो श्रम सम्झौता गर्नुपर्नेमा जोड दिएका थिए ।

सो अवसरमा कावा राजदूत शर्मालाई नेपाली श्रमिकका समस्या र बीमामा देखिएको समस्याप्रति ध्यानाकर्षण गराउँदै कार्यक्रम संयोजक मोहन बिएसकेले ज्ञापनपत्र बुझाउनुभएको थियो । रासस