काठमाडौं, २० जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोलुखुम्बुमा प्रहरी चौकी आक्रमण गरेको समाचार आएपछि त्यसको खण्डन गर्दै विज्ञप्ती जारी गरेको छ ।

नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माले सोमबार विज्ञप्ती जारी गर्दै सुरक्षाकर्मीमाथि आक्रमण गर्ने कुनै योजना नभएको स्पष्टिकरण दिएका हुन् । ‘सोलुखुम्बुमा हाम्रो पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण प्रयास भएको भन्ने नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति हाम्रो ध्यानाकर्षण भएको छ, विज्ञप्तीमा भनिएको छ, सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको र त्यसप्रकारको कुनै घटना नभएको स्पष्ट गर्दै पूर्वी नेपालमा दमन गर्ने सरकारी षड्यन्त्र अनुरुप त्यसप्रकारको समाचार ल्याएको स्पष्ट गर्न चाहन्छौं ।’

सोलुखुम्बुको छेस्काम प्रहरी चौकी कब्जा गर्ने प्रयास गरेको समाचार आएपछि विप्लव नेतृत्वको नेकपाले खण्डन गरेको हो ।