२९ भदौ, काठमाडौं । नेपाल विद्युत प्रधिकरणले एक बर्षभित्र ३ प्रतिशत विद्युत चुहावट नियन्त्रण गर्ने बताएको छ ।

गएको एक वर्षमा पनि त्यति नै विद्युत चुहावट घटाएको प्राधिकरणले ठूलो फड्को मारेकोे जनाएको छ । बिहीबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले पत्रकार सम्मेलन गर्दे प्राधिकरणको कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्राधिकरणको विगत, वर्तमान र भावी योजनाको बारेमा जानकारी गराएका हुन् ।

उनले देशभित्र पूर्व पश्चिम र उत्तर दक्षिण जोड्ने उच्च भोल्टेजका प्रसारण लाइनहरु निर्माण सम्पन्न गर्ने बताए । जनताको लगानीमा जलविद्युत आयोजनाहरुको द्रुत गतिमा विकास गर्ने तथा जलाशययुक्त र पिकिङ आयोजनाहरु निर्माणमा विद्युत प्राधिकरणले विशेष पहल गर्ने उनको भनाई रहेको छ ।

उनले भाविष्यमा रातको समयमा खेर जान सक्ने विद्युत र पिक आवरमा हुने मागबीच सन्तुलन कायम गर्न रुपा बेगनास पम्प स्टोरेज आयोजनाको सम्भाव्यता अध्ययन गरी कार्यान्वयन गर्ने बताए । उनले बिभिन्न जलविद्युत आयोजनालाई पनि तिव्र रुपमा अघि बढाएका जानकारी दिए ।
उनले स्मार्ट ग्रिड सिस्टमलाई लागू गर्न ब्याट्री स्टोरेज सिस्टमलाई आवश्यकता अनुसार जाडान गर्दै जाने, विद्युतीय सवारी सधानको प्रयोगलाई प्रोत्साहन गरी पेट्रोलियम आयातलाई कम गर्न विभिन्न ठाँउमा ब्याट्री चार्जिङ स्टेसन स्थापना गर्ने बताए ।

आगामी १० वर्षभित्र करिब १२ हजार मेगावाटसम्मको विद्युत खपत गर्न सक्ने गरी मुलुकका प्रमुख शहरी तथा औद्योगिक क्षेत्रमा वितरण प्रणाली विस्तार गर्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ ।