६ फागुन, एजेन्सी।

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको सुरुवाती दिनका कार्यको बचाउ गर्दै मिडियाको आलोचना गरेका छन्।

ह्वाइट हाउसमा हतारहतार बोलाइएको पत्रकार सम्मेलन एक घण्टा चलेको थियो । जहाँ ट्रम्पले प्रेस नियन्त्रण बाहिर गएको टिप्पणी गरेका छन्।

राष्ट्रपति कार्यभार सम्हालेपछि अमेरिका र विदेशका समस्या आफुलाई विरासतमा मिलेको बताउँदै मिडियाले समेत आफ्नो उपलब्धि कम गरिदिएको उनले बताएका छन्।

देशको जनतासमक्ष सिधा कुरा पुर्याउन उनले ह्वाइट हाउसमा पत्रकार सम्मेलन बोलाएको बताए।

उनले भने, ‘प्रेस बेइमान भइसकेको छ। यदि यसको बारेमा चर्च गरिएन भने यसले अमेरिकी नागरिकलाई ठूलो नोक्सानी गर्नेछ।’

डोनाल्ड ट्रम्पले सेयर बजार सुध्रनु र गैरकानुनी आप्रवासीलाई कारवाही हुन आफ्नो आफ्नो प्रशासनको सफलताको संकेत भएको बताए।

साथै ट्रम्पले यात्रा प्रतिबन्ध विषयमा आगामी हप्ता नयाँ संसोधित कार्यकारी आदेश आउने सम्भावना रहेको बताएका छन्।

उनले नयाँ कार्यकारी आदेश अदालतको आदेशअनुसार दिइने बताएका छन्।

यो भन्दा अघि सात मुस्लिम बाहुल्य देशका नागरिकमाथी लगाएको प्रतिबन्ध अदालतले रोकेको थियो।