१२ भदौ, एजेन्सी ।

पूर्वी अफ्रिकी देश केन्यामा वातावरण संरक्षणका लागि भन्दै प्लास्टिक झोलामा प्रतिबन्ध लगाईएको छ ।

केन्यामा आजदेखि लागु हुने नयाँ कानुन अनुसार पलास्टिकका झोला बेच्ने, उत्पादन गर्ने र प्रयोग गर्नेलाई ३८ हजार डलर जरिवाना अथवा ४ बर्ष जेल सजाय हुने बिबिसीले जनाएको छ ।

केन्याको वातावरण मन्त्रालयले नयाँ प्रतिबन्धले वातावरण संरक्षणमा सघाउ पुग्ने विश्वास ब्यक्त गरेको समाचारमा उल्लेख छ । केन्यामा गएको एक दशकको अवधिमा प्लास्टिकका झोलामा तेस्रो पटक प्रतिबन्ध लगाईएको हो ।

तर प्लास्टिक उत्पादक तथा व्यवसायीहरुले भने प्रतिबन्धले ८० हजारभन्दा बढी मानिसको रोजगारी गुम्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् । शुक्रबार उनिहरुले प्लास्टिकको उत्पादन र प्रयोगमा तत्काल प्रतिबन्ध लगाउन नहुने भन्दै दिएको निवदेन अदालतले खारेज गरिदिएको थियो ।

नयाँ नियमको कार्यान्वयनमा आशंका व्यक्त गरिएको छ । उपभोक्ताहरु प्लास्टिकको झोला बिनाको दैनिकीमा समायोजित हुने नहुने अनिश्चित जस्तै देखिएको संरक्षणकर्मीहरुको भनाई छ ।