३२ जिल्लामा मनोनयन : प्रतिनिधिसभामा ३७ सिटमा ३२० र प्रदेश सभाका ७४ सिटमा ४८२ को उम्मेदवारी

६ कात्तिक, काठमाडौं ।  आगामी १० मंसिरमा हुने पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ८०२ उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ ३२० र प्रदेश सभाका लागि ४८२ ले उम्मेदवारी दिएका छन् । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्नेछन् । पहिलो चरणको निर्वाचनमा ३२ जिल्लाबाट प्रतिनिधिसभाका ३७ र प्रदेश सभा ७४ गरी १११ सिटका लागि प्रतिस्पर्धा हुँदै छ । निर्वाचन आयोगले आइतबार शान्तिपूर्ण रूपमा उम्मेदवारी मनोनयन दर्ता भएको जनाएको छ ।

आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएको व्यक्तिले प्रत्यक्ष निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले एक व्यक्तिले एकपटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन सक्ने बताए । ‘एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएमा त्यस्ता उम्मेदवारको सबै क्षेत्रको उम्मेदवारी बदर हुने व्यवस्था छ,’ उनले भने । आजको नयाँ पत्रिकामा खबर छ ।

निर्वाचन आयोगले ८ कात्तिकमा उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने कार्यतालिका छ । आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध उजुरी दिने, उजुरी जाँचबुझ तथा छानबिन गर्ने, उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न भएपछि निर्वाचन चिह्न प्रदान गर्नेछ । आयोगले ९ कात्तिकबाट पहिलो चरणका प्रत्यक्षतर्फका मतपत्र छाप्न सुरु गर्नेछ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने एक करोड ७४ लाख मतपत्रमध्ये एक करोड १२ लाख मत छापिइसकेको छ । समानुपातिकका मतपत्र सात प्रकारका हुनेछन् भने प्रत्यक्षतर्फका मतपत्र भने निर्वाचन क्षेत्रअनुसार फरक–फरक हुनेछन् ।

मतपत्रमा कसको चिह्न कस्तो ?

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग हुने मतपत्र दलीय गठबन्धनका आधारमा छापिँदै छन् । निर्र्वाचन आयोगका प्रवक्ता ढकालका अनुसार पहिलो चरणको निर्वाचनमा प्रतिनिधिसभाका लागि ३६ र प्रदेश सभाका लागि ७४ प्रकारका मतपत्र छापिनेछन् । ती मतपत्रमा उम्मेदवारी दिने दलका मात्रै निर्वाचन चिह्न हुनेछन् । निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएका उम्मेदवारका आधारमा ८ कात्तिकमा निर्वाचन चिह्न वितरण हुनेछ ।

एमाले र माओवादीको गठबन्धनअनुसार प्रतिनिधिसभामा एमालेबाट उम्मेदवार भएकोे निर्वाचन क्षेत्रमा माओवादी केन्द्रको निर्वाचन चिह्न मतपत्रमा छापिनेछैन भने माओवादी उम्मेदवार भएको निर्वाचन क्षेत्रमा एमालेको निर्वाचन चिह्न छापिनेछैन । त्यस्तै, कांग्रेसका उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा राप्रपा (प्रजातान्त्रिक) तथा नयाँ शक्ति पार्टीको चुनाव चिहन् छापिनेछैन । राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिका उम्मेदवार भएका निर्वाचन क्षेत्रमा कांग्रेसको निर्वाचन चिह्न छापिनेछैन ।