१४ असार, कञ्चनपुर ।

कञ्चनपुरको बेलौरी नगरपालिकाको वडा नं ३ मा फर्जी मतदान भएको भन्दै माओवादी केन्द्रले मुचुल्कामा हस्ताक्षर गरेको छैन । पुष्पलाल स्मृति मतदान केन्द्रमा वास्तविक मतदाताको नाममा फर्जी मत हालिएको थियो ।

फुलमति रानाको नाममा अर्कैले मत हालेपछि दिउँसो विवाद उत्पन्न भएको थियो । विवादकै बीच मतदान अधिकृतले मतदान सकिएको मुचुल्का उठाउन खोज्दा माओवादी केन्द्रले बिरोध गरेको छ ।

केन्द्रले मतदान अधिकृतको मिलेमतोमा फर्जी मत खसालेको भन्दै मुचुल्कामा हस्ताक्षर गर्न नमानेको माओवादी जिल्ला पार्टी इन्चार्ज देवीराम चौधरीले जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले घटनाका विषयमा आफूले जानकारी लिने प्रयास भैरहेको बताएका छन । मतदान अधिकृत डम्बर सिंह खत्री भने मोबाईल अफ गरेर सम्पर्क बिहिन भएका छन । दिउँसो पनि पटक पटक यो मतदान केन्द्रमा विवाद भएको थियो ।