४ असोज, काठमाडौं । संसदीय समितिले राष्ट्रिय गौरवको आयोजना काठमाडौँ तराई ÷मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम छिटो सक्न निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको बैठकले यस्तो निर्देशन दिएको हो । सरकारले बहुचर्चित एवं बहुप्रतिक्षित सो द्रुत मार्ग चार वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण व्यवस्थापनको जिम्मा विसं २०७४ वैशाख २१ गते नेपाली सेनालाई दिएको थियो ।

ललितपुरको खोकनादेखि बाराको निजगढसम्मको कूल लम्बाइ ७६ दशमलव २ किमी रहेको सो द्रुत मार्ग निर्माण व्यवस्थापन गर्न सेनालाई दिइएको पाँच महिना बितिसक्दा पनि डिपिआरको अभावमा खासै काम अगाडि बढ्न सकेको छैन ।

समितिका सभापति रविन्द्र अधिकारीले लामो समयदेखि विभिन्न कारणले अल्झेको द्रुत मार्गको निर्माण कार्य सेनाले जिम्मा पाएपछि नयाँ आशा जागेको चर्चा गर्दै छिटोभन्दा छिटो डिपिआरको काम सक्न निर्देशन दिए ।

बैठकमा रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्रीले डिपिआरलाई टुङ्गोमा पु¥याई निर्माण कार्य अगाडि बढाउन निर्देशनसमेत दिएको जानकारी दिँदै छिट्टै डिपिआर टुङ्गोमा पुग्ने जानकारी दिए।

बैठकमा समिति सदस्यहरुले द्रुत मार्ग निर्माणमा सबैले सेनालाई सहयोग गर्नपर्नेमा जोड दिएका थिए । बैठकमा अर्थ मन्त्रालयका सहसचिव केवल भण्डारीले नेपाली सेनाको सीपलाई द्रुत मार्ग निर्माणमा लगाउन आग्रह गर्दै बजेटको अभाव हुन नदिने जानकारी दिए ।

डिपिआर अध्ययनका लागि सरकारले पूर्वाधार विज्ञ वीरेन्द्रबहादुर देउजाको संयोजकत्वमा डिपिआर अध्ययन टोली बनाएको र सो टोलीले अध्ययन अन्तिम चरणमा पु¥याएको बताइएको छ ।