५ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फुटसल समितिको आयोजनामा नेपालमा पहिलोपटक आधिकारिक एन्फा फुटसल राष्ट्रिय लिग–२०१७ यही भदौ ९ देखि २५ गतेसम्म काठमाडौँमा गर्ने भएको छ ।

नेपालले पहिलोपटक एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर्स खेल्ने नेपालको राष्ट्रिय टोली निर्माण गर्नका लागि प्रतियोगिता गर्न लागेको हो ।

फुटसल खेलको विकास र सही व्यवस्थापन गर्ने उद्देश्यले आज एक कार्यक्रम आयोजना गरी एन्फा र टर्नपाइक इभेन्ट प्रालिबीच पाँच वर्षका लागि सम्झौता भएको छ ।

नेपाली फुटसलको विकास र आगामी असोज २७ देखि इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर्स प्रतियोगितामा देशको प्रतिनिधित्व व्यवस्थित गर्न एन्फा र टर्नपाइकबीच पाँच वर्षको सम्झौता भएको एन्फा फुटसल कमिटीका संयोजक तथा एन्फा सदस्य रमेश रायमाझीले बताए ।