२० मंसिर, पोखरा । बाराहीघाटस्थित फेवाताल किनारामा निर्माण भएको रेस्क्यु टावरका कारण दुर्घटनाको क्रम घट्दै गएको छ ।

टावरबाट सशस्त्र प्रहरीको समूहले निरन्तर रुपमा तालका गतिविधिको निगरानी गरेका कारण पछिल्लो समयमा दुर्घटना न्यूनीकरण गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल, मुक्तिनाथ बाहिनीका सहायक बाहिनीपति प्रहरी वरिष्ठ उपरीक्षक कृष्णभक्त कर्माचार्यले टावरबाट दूरबिनमार्फत तालमा निरन्तर निगरानी गरिएको बताउँदै उक्त क्रममा केही घटना देखिए तत्काल डुङ्गामार्फत उद्धार गर्ने गरिएको जानकारी दिए ।

fewa tal drowned

यसैबीच आजै प्रबउ कर्माचार्यको नेतृत्वमा फेवाताल क्षेत्रको समग्र गतिविधिबारे अवलोकन गरिएको छ । सशस्त्र प्रहरीको उद्धार डुङ्गामार्फत तालबाराही घाटदेखि फेवातालको विभिन्न किनार र डुङ्गा घाटमा निरीक्षण गरिएको हो । गत चैतमा नेपाल हवाई खेलकुद संस्थाले आयोजना गरेको प्री वल्र्डकप प्याराग्लाइडिङ प्रतियोगितामा हावाहुरीका कारण अनियन्त्रित भई फेवातालमा खसेका पाँच जनालाई तथा २०७१ को असोजमा हेम्जाकी सुनिता थापाले उडाएको प्याराग्लाइडिङ तालमा खसेपछि सशस्त्र प्रहरीले उनको तत्कालै उद्धार गरेको थियो ।

खासगरी यतिबेला पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । फेवाताल घुम्न जानेको सङ्ख्या पनि बढी नै भएको छ । फेवातालमा नियमित अवलोकनका साथै बेला बेलामा समूहगत रुपमा तालका गतिविधि अवलोकनलाई निरन्तरता दिँदै आइएको कर्माचार्यले बताए । अवलोकनका क्रममा फेवातालमा डुङ्गा चढ्नेमध्ये केहीले लाइफ ज्याकेट नलगाई डुङ्गामा सयर गरेको भेटिएको जानकारी दिँदै उनले कतिपयले डुङ्गा घाटबाट लाइफ ज्याकेट लगे पनि तालको बीचमा पुगेपछि खोल्ने गरेको पाइएको बताइएको छ । रासस