१० मंसिर, काठमाडौँ।

विश्वकप छनोटको दोस्रो चरणअन्तर्गतको ‘अवे लेग’ खेल्न सन् २०११ मा जोर्डन गएको नेपाली राष्ट्रिय फुटबल टोली ९–० को लज्जास्पद हार व्यहोर्दै घर फर्कियो ।

दुई पटक एसिया कपको क्वार्टरफाइनलसम्म पुगेको तथा सन् २००७ को जुलाई महिनाको विश्व फुटबल महासङ्घ (फिफा) वरियतामा ३७ स्थानमा रहन सफल भएको जोर्डनसँगको हार स्वाभाविक भए पनि धेरै गोल खानमा नेपाली रक्षापङ्क्तिले प्रशस्तै भूल गरेको थियो । तर सो बेलाको लज्जास्पद हारको दोष खेलाडी र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीहरुलाई नदिएर देशको कमजोर आर्थिक अवस्था र फुटबलमा भएको कम लगानीलाई दिइयो ।

नेपालले नौ गोल खाँदा मुख्य रक्षापङ्क्तिका खेलाडी सन्दीप राईले स्वयम् देशले फुटबलमा गरेको कम लगानीका कारण खराव नतिजा आएको सामाजिक सञ्जालमा लेख्न भ्याए । उनले लेखे, “हामी गरिब देश हुनुको नियति फुटबलमा पनि भोगिरहेका छौँ ।”

उनको यो भनाइलाई स्वाभाविक मानियो र नेपाल फराकिलो अन्तरले हार्नुमा राज्य व्यवस्थालाई दोषी मानियो । तर त्यसको करिब एक हप्तापछि नेपालले जोर्डनविरुद्ध घरेलु मैदानमा खेलेको ‘होम लेग’मा एक÷एकको बराबरी खेल्यो । त्यो बेला कप्तान सागर थापाले भनेको एउटा वाक्य सञ्चारमाध्यमको ‘हेडलाइन’ बन्यो । उनले भनेका थिए – “देशको माटोले हामीलाई चिन्छ ।”

नेपालले बलियो जोर्डनलाई एक÷एकको बराबरीमा रोकेकामा खेलाडीले सबैतिरबाट वाहवाही पाए तर त्यही फराकिलो हार र बराबरीलाई नेपाल प्रहरीले शङ्काको घेरामा राखेर छानबिन सुरु गर्यो । अन्ततः देशको माटोले चिनेको अभिव्यक्ति दिएका राष्ट्रिय टोलीका कप्तान सागर, फराकिलो हारमा देशको गरिबीलाई दोष दिएका उपकप्तान सन्दीप, गोलरक्षक रितेश थापा, पूर्व राष्ट्रिय खेलाडीद्वय अञ्जन केसी र विकाससिंह क्षेत्रीलाई करिब आठ खेलमा सप्रमाण म्याच फिक्सिङ (खेल मिलेमतो) गरेको आरोपमा गत असोज २७ गते प्रहरीले पक्राउ गर्यो । करिब दुई हप्ताअघिमात्र उनीहरुलाई विशेष अदालतले धरौटीमा रिहा गरेको थियो भने मुद्दा अहिले विचाराधीन छ ।

नेपाली फुटबलको दुर्दशा यतिमै सीमित छैन । भर्खरै फिफाले एन्फा अध्यक्ष गणेश थापालाई आर्थिक अनियमितता गरेको आरोपमा करिब रु २१ लाखसहित अन्तर्राष्ट्रिय फुटबलमा कुनै गतिविधि गर्न नपाउने गरी १० वर्ष लामो प्रतिबन्ध लगाएको छ ।

एसियाली फुटबल महासङ्घ (एएफसी)ले सोह्र वर्षमुनि (यु–१६)को फुटबल टोलीलाई अघिल्लो महिना एएफसी च्याम्पियनसिप खेल्न प्रतिबन्ध लगायो ।

छनोटमा नेपालले तोकिएको भन्दा बढी उमेरका खेलाडी मैदानमा उतारेको भन्ने आरोप छ र यसमा एन्फाको प्रशस्त कमजोरी देखिन्छ । फुटबलमा यत्रो अनियमितताका कुरा उठ्दा पनि एन्फाका अधिकांश पदाधिकारी यी विषयमा मुख खोल्न चाहँदैनन् भने एन्फाले विज्ञप्ति निकाल्ने औपचारिकताबाहेक केही गरेको छैन । यसले पनि देखाउँछ फुटबलभित्र कति अनियमितता छ भनेर ।

एन्फामा भएका यस्ता विकृतिबारे थाहा पाएर आवाज उठाउँदा कुनै बेला उपाध्यक्ष कर्माछिरिङ शेर्पालगायत तीन पदाधिकारी निलम्बनमा परेका थिए ।

उपाध्यक्ष शेर्पाले एन्फा विधिसम्मत चलेर फुटबलले गति लेओस् भन्नेबाहेक अरु आफ्नो स्वार्थ नभएको बताउँदै भन्छन् – “वर्षौंदेखि एउटै व्यक्ति (गणेश थापा)को एकाधिकार हुनु र कठपुतलीले उनलाई हरतरहमा साथ दिनु नै अहिले फुटबलमा देखिएको सङ्कट मूल कारण हो ।”

अनियमिताकै कारण साफमा खराव नतिजा

नेपालले हालसम्म दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) जित्न नसक्नुको कारण एन्फामा भएको विवाद र म्याच फिक्सिङ नै भएको फुटबलपे्रमी बताउँछन् ।

हाल ठमेलमा व्यवसाय गरेर बसेका फुटबल समर्थक रमेश बराल नेपालले राम्रो खेलेर पनि नतिजा नआएकामा चिन्ता व्यक्त गर्दै भन्छन् – “नेपालले खेलेका सबै खेल हेर्थे । खेल पनि राम्रो नै हुन्थ्यो तर सोचेजस्तो नतिजा नआउनाका कारण त यो पो रहेछ । खेलाडी नै नेपालले हारोस् भन्ने चाहँदा रहेछन् ।”

त्यस्तै, खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिना देशको सर्वाधिक लोकप्रिय खेल फुटबलमा नतिजा नआउँदाभन्दा यसभित्रको भएका गलत कामले अहिले शुभचिन्तक मर्माहत भएको बताउछन् । उनी भन्छन्– “सबैले खेलाडीले राष्ट्रका लागि खेल खेले भनेको त झेल खेलेका पो रहेछन् ।”

हुन पनि साफमा अहिलेसम्मको नेपालको यात्रा सेमिफाइनलमै सीमित भएको छ । तर कुनै बेला नेपालकै हाराहारी तथा कमजोर स्थितिमा रहेका माल्दिभ्स, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानले समान एक÷एक पटक साफ च्याम्पियनसीप जितिसकेका छन् ।

मैदानमा समानस्तरको खेल पस्किने भारत छ पटक साफ च्याम्पियनसिपको उपाधि उचाल्न सफल भइसकेको छ । तर, नेपाली फुटबल खेलमा पर्याप्त लगानी भएको भएपनि यस खेलमा सोचेअनुरुपको नतिजा भने आउन सकेको छैन ।

फुटबल खेललाई नै उकास्नकै लागि नेपालीमात्रै नभई करोडौँ लगानी गरेर विदेशी प्रशिक्षक भित्र्याए पनि अहिलेसम्म नेपालको नतिजा भने शून्य जस्तै बनेको छ ।

कस्तो होला यस्तो बेलाको प्रदर्शन

अहिले राष्ट्रिय फुटबल टोली आगामी महिना भारतमा हुने एघारौँ संस्करणको दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ)को तयारीमा छ तर फुटबलमा देखिएको भ्रष्टाचार, म्याच फिक्सिङलगायतका विभिन्न विवादका बीच हुनलागेको साफ च्याम्पियनसिपमा कस्तो परिणाम आउँछ भनेर आम फुटबल पे्रमीले चासोका साथ हेरिरहेका छन् ।

साफ च्याम्पियनसिफका लागि हाल दोस्रो चरण छनोटमा अटाएका २७ खेलाडी अहिले बन्द प्रशिक्षणमा छन् ।

एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले वर्तमान समयमा एन्फाभित्र धेरै समस्या देखिए पनि साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शनमा यसले खासै असर नपार्ने बताए । उनले भने – “पुराना र अनुभवी खेलाडी नभए पनि नयाँ टोलीका लागि यो अवसर र चुनौती पनि हो, उनीहरुले उत्कृष्ट खेल प्रदर्शन गर्नेमा म ढुक्क छु ।

राष्ट्रिय टोलीका पूर्व कप्तान तथा प्रशिक्षक राजुकाजी शाक्य फुटबल प्रकरण बिर्सिएर खेलाडीले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्छन् । “युवा खेलाडीको बाहुल्यता भएको अहिलेको टोलीले राम्रो प्रदर्शन गर्ने मलाई आशा छ” – उनले भने ।

अन्तर्राष्ट्रियस्तरमै नेपाली फुटबलको छवि धमिलिएका बेला यस पुस्ताका खेलाडीले जसरी भए पनि राम्रो प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै एन्फा उपाध्यक्ष शेर्पा भन्छन् – “पुरानाको कमजोरीले अवसर पाएको नयाँ खेलाडीमा जोश जाँगर छ । उनीहरुले देशको छवि बचाउन योगदान गर्नेछन् भन्नेमा म त ढुक्क छु ।”

दर्शक चिन्तित भएपनि लगाव घटेको छैन

केही समयअघि सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सस्थित मैदानमा थ्रिस्टार क्लब र मनाङ मर्याङ्दी क्लबबीच राष्ट्रिय लिग विजेताका लागि निर्णायक खेल भइरहेको थियो । सधैँजसो फुटबल हेर्न मरिहत्ते गर्ने दर्शक खेल छोड्न हेरेर कम्प्लेक्सबाहिर प्ले कार्ड बोकेर बसेका थिए ।

करिब २०÷२५ वर्षका युवाहरुले बोकेका ती प्ले कार्डमा ‘राष्ट्रियता ठूलो हो कि पैसा ?’ ‘फुटबल खेल नेपालीलाई एक बनाउने खम्बा हो, यसलाई कलङ्कित गर्ने हरेकलाई खबरदार’ ‘नेपाली फुटबल बचाऔँ’ जस्ता नारा लेखिएका थिए ।

लिगको अन्तिम तथा निर्णायक खेलमा थ्रिस्टारले मनाङलाई २–० गोल अन्तरले हराउँदै राष्ट्रिय लिगको उपाधि जित्यो । तर त्यहाँ सदा झैँ फुटबलको रौनक देखिएको थिएन ।

देशको राष्ट्रिय झन्डा बोकेर मातृभूमिको कसम खाँदै राष्ट्रिय गानको धुनमा स्वर मिलाउँदै देशलाई जिताउन मैदानमा उत्रेका खेलाडी पैसाको प्रलोभनमा परेर देशलाई गद्दारी गरेकामा आमनेपाली जनता र फुटबल प्रेमी दुःखी छन् ।

देशको एकमात्र अन्तर्राष्ट्रियस्तरको खेल मैदान दशरथ रङ्गशालामा नेपालले खेलेका अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलदेखि लिएर सबै प्रतिस्पर्धामा नेपाली खेलाडीको हौसला बढाउन हजाराँैको सङ्ख्या दर्शकको उपस्थिति हुने गर्छ । महँगो शुल्कको टिकट किनेर नेपाली फुटबलको हौसला बढाउन रङ्गशाला आएका दर्शकका लाम थापाथलीसम्म हुने गथ्र्याे ।

टिकट नपाएर नेपालले खेलेको खेल प्रत्यक्ष हेर्न नपाउँदा दुःखी हुने गरेका धेरै दर्शक आज नेपाली खेलाडीले पैसामा बिकेर खेल मिलेमतो गर्ने गरेको कुरा पत्याउन सकिरहेका छैनन् । रासस