१२ मंसिर, राजविराज । सप्तरी जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा अहिले चुनावी रौनक निकै बढेको छ ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य उमेश यादव तथा राजपाका पूर्व सहमहामन्त्री स्वतन्त्ररुपमा उम्मेदवारी दिएका जयप्रकाश ठाकुर चुनावी मैदान छन ।

यो क्षेत्रमा मधेश गठबन्धन र वाम गठबन्धन तथा स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएकाले कसले बाजी मार्ला भन्ने सबैको नजर सप्तरी क्षेत्र नं २ प्रति ध्यान गएको देखिएको छ ।

यता काँग्रेसका उम्मेदवार सकलदेव सुतिहारले भने मधेश गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गरेका छन् ।

करिब ७९ हजार २६३ मतदाता रहेको यस क्षेत्रमा फोरम–राजपाको चुनावी गठबन्धन र एमाले–माओवादीबीचको चुनावी तालमेललाई हेर्ने हो भने यी दुई गठबन्धनबीच नै अन्तिम प्रतिस्पर्धा हुने स्थानीय बुद्धिजीविको भनाइ रहेको छ ।

तर दुवै गठबन्धनका उम्मेदवारलाई चुनौती दिँदै स्वतन्त्ररुपमा उम्मेदवारी दिएका ठाकुर पनि पछाडि परेका छैनन् । राजपाले टिकट नदिएपछि उनी पनि स्वतन्त्ररुपमा भए पनि उम्मेदवार भएर कडा चुनौतीका साथ चुनावी तालमेलमा उत्रनुभएको छ ।

चुनावी मैदानमा रहेका फोरम अध्यक्ष यादव यसअघि पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा मोरङ र सुनसरीबाट चुनाव लडेका थिए ।

अध्यक्ष यादवले पहिलो संविधानसभामा मोरङ र सुनसरीको दुवै क्षेत्रबाट विजय प्राप्त गरेका थिए । तर २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा सुनसरीबाट विजयी प्राप्त गर्न सफल भएका थिए ।

त्यस्तै उनलाई कडा टक्कर दिन चुनावी मैदानमा रहेका माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं पूर्वसिँचाइ मन्त्री उमेशप्रसाद यादवले पनि यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन सप्तरी क्षेत्र नं ३ बाट फोरमका उम्मेदवार शलेन्द्रप्रसाद साहलाई पराजित गरी निर्वाचित भएका थिए ।

यता राजपाका पूर्व सहमहामन्त्री जयप्रकाश ठाकुर मधेश गठबन्धनको विरुद्धमा स्वतन्त्र उम्मेदवार बनेका छन । उनी पनि यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन तमलोपा पार्टीबाट चुनाव लडेका थिए ।

काँग्रेसको केन्द्रीय परिपत्रअनुसार सप्तरी प्रतिनिधिसभा क्षेत्र नं २ बाट मधेश गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गर्न निर्देशन आएकाले फोरम अध्यक्ष बलियो देखिए पनि वाम गठबन्धनका उमेश यादवलाई एमाले र माओवादी केन्द्रको साथ छ ।

सप्तरी क्षेत्र नं २ को प्रदेशसभा सदस्यमा पनि गठबन्धन र वाम गठबन्धनबीचको प्रतिस्पर्धा देखिएको छ भने स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा रहेका छन् ।

२ को (क)मा राजपा–फोरम गठबन्धनबाट शलेन्द्रप्रसाद साह र नेपाली काँग्रेसबाट रञ्जित कर्ण छन ।

त्यस्तै २ को (ख)मा वाम गठबन्धनको तर्फबाट महेश यादव र राजपा–फोरम गठबन्धनबाट राजपाका महासचिव मनिषकुमार सुमन चुनावी मैदानमा छन ।

यस्तै राजपाले टिकट नदिएपछि असन्तुष्टि जनाउँदै लक्ष्मण यादवले पनि महासचिव सुमनका विरुद्धमा स्वतन्त्र उम्मेदवारी दिएर कडा प्रतिस्पर्धाका साथ चुनावी मैदानमा छन ।

सप्तरी क्षेत्र नं २ मा छिन्नमस्ता, तिलाठी कोइलाडी, महदेवा गाउँपालिका र राजविराज नगरपालिका पर्छन् । रासस