१४ चैत, एजेन्सी ।

हिजोआज भारतमा हवाई यात्राको अवधिमा मनमानी गर्ने यात्रुको संख्या बढेको छ, त्यसमा पनि बिशेषगरी ‘भिआईपी’ यात्रु तथा कलाकारहरु तर, अब यस्ता घटनाप्रति एयर इन्डियाले कडा नजर लगाउने भएको छ ।

यसै क्रममा खबरअनुसार, चर्चित कमेडियन कपिल शर्मालाई एयर इन्डियाले चेतावनी दिने तयारी गरेको छ । हालै कपिल शर्माले एयर इन्डियाको अस्ट्रेलियादेखि भारत सम्मको हवाई यात्राका क्रममा एक विवाद उत्पन्न गराएका थिए । केही प्रत्यक्षदर्शी यात्रुहरुका अनुसार, कपिलले आफ्ना समकक्षी सुनिल ग्रोभरलाई थप्पड हान्नका साथै जुत्ताले पनि हानेका थिए, अनि गालीगलौज गरेका थिए ।

यति मात्रै होइन, कपिलले आफ्नो शोको अन्य सदस्यहरुलाई पनि गाली दिएको चर्चा समेत चल्यो । अब एयर इन्डियाले उडान अवधिमा कपिलको व्यवहारमाथि एक रिपोर्ट मागेको छ । यसबाहेक कपिललाई एक चेतावनी पनि एक हप्ताभित्र जारी गरिने बताइएको छ ।