६ साउन, काठमाडौं ।

भारत र चीनबीच भएको लिपुलेक सम्झौताको विरोधमा भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आह्वान गरेको बन्दको चौतर्फी विरोध भएपछि विप्लवले फेसबुक स्ट्याटस लेखेर नेपाल बन्दको बचाउ गरेका छन् ।

नेपाली जनतालाई दुःख दिने उद्देश्यले नभएर लिपुलेक सम्झौताबारे सरकारलाई बोल्न बाध्य पार्ने उद्देश्यले बन्द आह्वान गरिएको भन्दै उनले बन्दको बचाउ गरेका हुन् ।

Biplav Birodh on Lipulake (3)

उनले फेसबुकमा भनेका छन्-

“श्रावण ८को वन्द नेपाली जनतालाई गाह्रो पार्न होइन नेपाल सरकार, भारत र चीन सरकारलाई लिपु लेकवारे वोल्न लगाउन गरिएको वन्द हो । लिपु नेपालको हो , नेपाली सार्वभौमिकताको लागी यो नेपाली नागरिकको मनको ढुकढुकी हो । वन्दमा सवै सहभागि वनौं ।”

Biplav status on Nepal Bandha

लिपुलेक नेपालको भएको भन्दै विप्लव माओवादीले सम्झौताको विरोधमा साउन ८ गते अर्थात पर्सी शुक्रबार नेपाल बन्दको घोषणा गरेको थियो ।

केही दिन अघि मात्र राजधानीमा आयोजित एक सभामा विप्लवले नेपालमाथि आँखा नलगाउन विदेशीहरुलाई चेतावनी दिएका थिए । लिपुलेक सम्झौताको विरोधमा खुल्ला मञ्चमा आयोजित पार्टीको शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै विप्लवले ‘हाम्रो देशमा कसैले पनि आँखा नलगाओस् हामी जे पनि गर्न तयार छौं’ भनेका थिए ।

एक साता अघि पनि विप्लव माओवादीका कार्यकर्ता र प्रहरीबीच राजधानीमा झडप भएको थियो । भारत र चीनबीच भएको लिपुलेक सम्झौताको विरोध गर्दै प्रदर्शनमा उत्रिएका माओवादी कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेपछि झडप भएको थियो ।