१२ भदौ, बीरगंज।

अनिश्चितकालिन मधेस बन्दको कारण लामो समयदेखि स्थानीय पेट्रोलपम्पहरु बन्द भएपछि बीरगंजमा पनि इन्धनको अभाव शुरु भएको छ । संघीय सीमाकंनको बिषयलाई लिएर असन्तुष्ट मधेस केन्द्रीत दलहरुले आव्हान गरेको मधेस बन्दको कारण बीरगंजमा पेट्रोलको अभाव शुरु भएको हो ।

करिव दुई दर्जनको संख्यामा रहेको पेट्रोलपम्प गत दुई सातादेखि बन्द भएपछि स्थानीय उपभोक्ताहरु बढी मर्कामा परेका हुन् । बजारमा पेट्रोल अभाव शुरु भए लगतै बीरगंजमा पान पसलेदेखि नाश्ता पसलेसम्मले मिनिरलवाटरको बोतलमा पेट्रोल भरी सडक किनारामा राखी १०४ रुपैया साटो १५० रुपैयासम्म महंगो मुल्यमा बिक्री गरेपछि स्थानीय उपभोक्ता मर्कामा पर्न थालेका हुन् ।

हुनत पर्सामा स्थानीय प्रशासनले दैनिक उपभोग्य बस्तुको आपुर्ति सहज बनाउन निषेधाज्ञा जारी गरी सुरक्षाकर्मीको बिशेष निगरानीमा दैनिकजसो सयौ इन्धन तथा अत्यावश्यक खाद्य सामाग्रि बोकेको मालवाहक सवारी साधन राजधानीतर्फ लगिरहेको छ । तर यतिबेला बीरगंजमै इन्धनको चरम अभाव शुरु भएको छ ।

जसको फाईदा यहाका स्थानीय ब्यापारीले महंगोमा इन्धन बिक्री गरेर कमाइरहेका छन्। स्थानीय प्रशासन भने मौन भएर बसेको छ । प्रशासनको मौनताले दिन प्रतिदिन यस्ता पेट्रोल ब्यवसायीको संख्यामा बृद्धि भइरहेको छ। यदि सरकारले यसतर्फ समयमै नसोच्ने हो भने यसरी मुख्य सडकमै बसेर उपभोक्ता ठगी गर्नेहरुको मनोवल बढनेछ । तसर्थ स्थानीय पेट्रोल पम्प संचालकलाई सुरक्षाको ग्यारेण्टी दिएर एउटा निश्चित समयमा संचालन गर्न लागाउने वातावरण बनाउनु एकदमै जरुरी भइसकेको छ ।