khilraj२२ कार्तिक, काठमाडौँ । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले नेकपा–माओवादीलगायत निर्वाचनको विपक्षीमा रहेका दललाई निर्वाचन विरोधी गतिविधि नगर्न र बन्द, आमहडताललगायतका कार्यक्रम फिर्ता लिन आह्वान गरेका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको २८ औँ प्राज्ञसभालाई आज यहाँ सम्बोधन गर्दै अध्यक्ष रेग्मीले नागरिकको मतदान गर्ने नैसर्गिक अधिकारमा कुण्ठित गर्ने वा अवरोध गर्ने कार्य राजनीतिक चरित्र भएको कुनै दल वा पक्षलाई नसुहाउने स्पष्ट पारे । उनले नागरिकको मताधिकार कुण्ठित गर्ने, अवरोध खडा गर्ने, हिंसात्मक गतिविधि गरी शान्ति सुरक्षामा खलल पुर्याउनेलगायतका समाज विरोधी एवं कानुन प्रतिकूल कार्य गरिए त्यसमा सरकार कडाइका साथ प्रस्तुत भई कानुनबमोजिम कारबाही गरिने बताए ।

निर्वाचनमा कुनै प्रकारको बाधा वा अवरोध होला भन्ने भ्रम वा त्रासमा नपरी पूर्ण सुरक्षित महसुस गर्दै निर्वाचनको महाअभियानमा सहभागी हुन सबैसँग उनले आग्रह गरे । नेपालको भाषा, साहित्य र संस्कृतिको उत्थानमा प्रज्ञा प्रतिष्ठानले पुर्याएको योगदानको सराहना गर्दै अध्यक्ष रेग्मीले त्यसलाई अझ प्रभावकारी बनाउन आग्रह गरे ।

साहित्यको माध्यमबाट साहित्यिक विधाको मात्र विकास हुने नभई यसले प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा सामाजिक रूपान्तरणको प्रक्रियामा देशका विविध पक्षमा पनि सम्बोधन गर्ने यस क्षेत्रमा सरकारले सहयोग गर्ने उहाँको भनाइ थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले प्राज्ञसभामा हुने छलफल र विषयवस्तु प्रतिष्ठानको आगामी योजना तथा कार्यक्रम तर्जुमा गर्न सफल हुने विश्वास व्यक्त गर्दै सरकारको तर्फबाट प्रतिष्ठानलाई आवश्यक सबै सहयोग दिने प्रतिबद्धता व्यक्त गरे । प्रतिष्ठानका कुलपति वैरागी काइँलाले प्राज्ञसभाले आव २०७०/७१ को बजेट, नीति तथा कार्यक्रम पारित गर्ने जानकारी दिए । रासस