६ जेठ, रसुवा ।

शुक्रबार खुकुरी प्रहार घटनाका दोषीलाई कारबाहीको माग गर्दै नेकपा (एमाले) रसुवाले आजदेखि अनिश्चितकालीन रसुवा बन्द आह्वान गरेको छ ।

एमालेका जिल्ला अध्यक्ष कर्णेल लामाद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार खुकुरी प्रहार गर्ने दोषी र दोषी भगाएको आरोप लागेका स्याफ्रुबेसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षकलाई कारबाही गर्नुपर्ने माग गरिएको छ । रसुवा बन्दले जनजीवन प्रभावित भएको छ ।

उता प्रहरीले भने दोषीको खोजी जारी रहेको जनाएको छ । प्रहरी सहायक निरीक्षक मधुकान्त खड्कामथि छानबिन सुरु भइसकेको बताइएको छ । शुक्रबार स्याफ्रुबेँसीका एक युवकले अर्का युवकलाई खुुकुरी प्रहार गरेपछि आक्रोशित भिडले एक मोटरसाइसकलमा आगजनी गर्नाका साथै प्रहरी चौकी स्याफ्रुबेँसीसमेत तोडफोड गरेको थियो ।

खुकुरी प्रहारबाट घाइते फुर्पु साग्बो तामाङको काठमाडौँस्थित ग्य्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको बताइएको छ । बिहीबार राति नौकुण्ड गाउँपालिका, यार्सामा भएको खुकुरी प्रहारबाट घाइते भएका व्यक्तिको पनि सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ । रासस