३ फागुन, पाकिस्तान । अफगानिस्तानको सीमाक्षेत्रमा रहेको सधैं अशान्त भइरहने पाकिस्तानको उत्तरपश्चिमी आदिवासी इलाकामा सडक किनारमा रहेको बम विस्फोटमा परी तीन अर्ध सैनिकको मृत्यु भएको अधिकारीले सोमबार जानकारी दिएका छन् ।

दक्षिणी वाजिरिस्तान आदिवासी जिल्लाको तोइखोला गाउँमा आइतबार गस्तीमा रहेका सैनिक लक्षित सो विस्फोट गराइएको बताइएको छ ।

दक्षिणी वाजिरिस्तानमा गस्तीमा रहेका सैनिक लक्षित सो बम विस्फोटमा तीन सैनिक मारिएका एक सुरक्षा अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् । दुर नियन्त्रितयन्त्रको सहयोगले सो बम विस्फोटन गराइएको पनि ती अधिकारीले जानकारी दिएका छन् ।

शक्तिशाली सैनिक प्रमुख जरनल कामर जाभेद् बाज्वाको उक्त जिल्ला भ्रमणको केही समयापश्चात् सो आक्रमण भएको बताइएको छ ।

पाकिस्तानाको सातवटा अर्ध स्वायित्व आदिवासी क्षेत्रमध्ये दक्षिणी वाजिरिस्तान पनि एक हो । यहाँ एक दशक भन्दा बढी समययता अल कायदा र तालिवानसँग आवद्ध आतङ्ककारी समूह पाकिस्तानी सुरक्षाबलसँग झडप गर्दै आएका छन् ।