१४ असार, दाङ ।

एक वीर प्रहरी हवल्दार, जसले आफ्नो जिउज्यानको प्रवाह नगरी आम नागरिकको जिवनको रक्षा गरेका छन् । तुलसीपुरमा चुनावमा खटिएका प्रहरी हवलदार दुर्गाबहादुर राणाले बुथलाई लक्षित गरी प्रहार गरेको बम एक मिनेटमै समातेर जंगलमा फाल्न सफल भएपछि अहिले उनको सवत्र्र चर्चा चलेको छ ।

उनलाई गृहमन्त्रि जनार्दन शर्माले टेलिफोन गरेर बधाई र धन्यवाद दिएका छन् । उनले नेपाल प्रहरीको साहस प्रति गर्व गर्दै हवल्दार राणालाई पुरस्कार दिने घोषणा समेत गरेका छन् ।

उनलाई प्रहरी महानिरिक्षक प्रकाश अर्यालले पनि फोन गरेर बधाई दिएका छन् । अर्यालले नेपाल प्रहरी भित्र सक्षम र साहसीहरुको उदाहरण राणाले देखाएको भन्दै खुसी व्यक्त गरेका छन् ।

नेपाल प्रहरीको १४ वर्षको जागिरे यात्रामा धेरै आरोह र अवरोहको सामना मात्रै गरेनन् उनले दोस्रो चरणको निर्वाचन गराउन काठमाडौबाट दाङ आएको केहि दिनमै हिम्मत र साहस देखाएर देश विदेशमा चर्चाको पात्र बन्न सफल भएका छन् ।

उनले तुलसीपुर उपमहानगरपालिका वडा नं ३ अम्वासमा चुनावी अभियानको सुरक्षार्थ खटिएको बेला दिउँसोको समयमा एक जना युवकले बम आफुतिर फालेको देखे अनि त्यो आगो सल्किरहेको बमलाई केहि सेकेन्डमै जंगलतिर फाल्न सफल भए ।

उनी एकछिन भावव्यहोल पनि भए । केहि छिनमै गाउँलेले उनलाई स्यावासी मात्रै दिएनन् अविर जात्रा समेत गरे । तुलसीपुर उपमहानगरपालिकामा मतपेटिका ल्याउदै गर्दा उनलाई तुलसीपुरमा पनि स्वागत गरियो ।

सल्यान सारदा नगरपालिका वडा नं १ छापडाडाँमा जन्मिएका प्रहरी हवल्दार दुर्गाबहादुर राणा एक हप्ता अगाडि मात्रै काठमाडौबाट दाङ आएका हुन् ।

त्यसैगरी उनले संक्षिप्त प्रतिक्रिया दिदै भने, ‘मैले मेरो जिवनको कुनै प्रवाह गरिन, मलाई मेरोभन्दा जनताको सुरक्षामा चासो भयो । मलाई मेरो जिम्मेवारी र मतपेटिकाको सुरक्षा गर्नु प्रमुख कर्तव्य भएको ठाने अनि बमलाई सामान्य मानेर फालिदिए ।’

एक जना स्कुले युवकले फालेको सुतली बम विस्फोट नहुदै समयमै प्रहरी हवल्दार राणाले जंगलमा फाल्न सफल भए र उनले धेरैको जिऊ ज्यान र निर्वाचनको सुरक्षा गर्न सफल भए ।