५ साउन, काठमाडौं । दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनका क्रममा अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम हातले समातेर फालेका प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई प्रहरी सहायक निरीक्षकमा बढुवा भएको छ ।

उत्कृष्ट कार्य गरेबापत रानाको बढुवा गरिएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए । उनले भने, “रानाको बढुवा निर्णय भइसकेको छ, केही दिनमा दज्र्यानी चिह्न प्रदान गरिनेछ ।

गत असार १४ गते भएको मतदानका क्रममा दाङको तुलसीपुर उपमहानगरपालिकास्थित अम्बास मतदान केन्द्रमा अज्ञात समूहले बम फालेका थिए । बम फालेलगत्तै हवल्दार रानाले त्यसलाई तत्काल हातले समातेर सुरक्षित स्थानमा फाली जनधनको क्षति हुनबाट जोगाएका थिए ।

त्यसलगत्तै गृहमन्त्री जनार्दन शर्माले रानालाई फोन गरेर उनको साहसको प्रशंसा गर्दै उचित सम्मान गर्ने घोषणा गरेका थिए ।