५ असार, रुपन्देही ।

गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले निर्वाचनका वेला विशेष सुरक्षा सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् । पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पाँच नम्बर प्रदेशको सुरक्षा गोष्ठीलाई बुटवलमा सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन् ।

निर्वाचनको बेला कुनै राजनीतिक दलप्रति आग्रह पूर्वाग्रह नराख्न निर्देशन दिँदै मन्त्री शर्माले भने, ‘जिल्लाका राजनीतिक दलहरुसँग निरन्तर छलफल र सम्पर्कमा रहनु होला । सँगसँगै बर्दिभित्र राजनीतिक विचार हुनुहुँदैन भन्ने पनि ख्याल गर्नुहोला ।’

जनताले ढुक्क भएर मताधिकार प्रयोग गर्न पाउनु पर्ने भन्दै मन्त्री शर्माले चुनाव शान्तिपूर्ण, धाँधलीरहित र भयरहित बनाउन निर्देशन दिए । कपिलवस्तुको वाणगंगा, बाजुरा, संखुवासभा र बाँकेको नेपालगञ्जमा हिजो भएका घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री शर्माले ति जिल्लाहरुमा आवश्यक सुरक्षा प्रवन्ध मिलाइसकेको जानकारी दिए ।

सरकारले नागरिकले ढुक्कसँग भोट हाल्न पाउने गरी सुरक्षा रणनीति बनाएको भन्दै उनले मतदातालाई कुनै पनि सुरक्षा चुनौती नरहने स्पष्ट पारे । कसैमाथि कारबाही गर्दा त्यसले पार्ने दीर्घकालीन असरलाई पनि ध्यान दिन निर्देशन दिँदै मन्त्री शर्माले भने, ‘चुनावमा अप्रिय घटना सकेसम्म हुँदै नहोस् । तर, बल प्रयोग गर्नै पर्ने अवस्था आयो भने पछि नहट्नुहोला ।’

सुरक्षा गोष्ठीमा गृहसचिव लोकदर्शन रेग्मी, निर्वाचन आयुक्त सुधिर शाहका साथै रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, अनुसन्धान विभाग र नेपाली सेनाका प्रतिनिधिहरु सहभागी थिए ।
बुटवलको कार्यक्रम सकेर मन्त्री शर्मा आजै नेपालगञ्ज पुगेका छन् ।