२८ साउन, सिरहा ।

नाला निर्माणको काम अधुरै रहँदा र बनेको नाला पनि भत्किनाले मिर्चैया बजार क्षेत्र पनि डुबानमा परेको छ । विगत तीन दिनदेखि जारी वर्षाको पानीले बजार क्षेत्र जलमग्न भएको छ । पानीको व्यवस्थित निकास नहुँदा राजमार्ग र वजार क्षेत्रमा भेल बगेको छ ।

मिर्चैया वजार क्षेत्रमा बगेको भेलले ३ स्थानमा राजमार्ग क्षतिग्रस्त भएको छ । राजमार्गमा कटान जारी छ । राजमार्गमा क्षति पुगेको स्थानहरुमा सवारी साधन आवत जावत गर्न कठिनाई भइरहेको छ । मोटर साईकल चालक र पैदल यात्रुलाई सर्वाधिक कठिनाई हुने गरेको छ ।

मिर्चैयामा जिल्ला समन्वय समिति सिरहाले नाला निर्माण गर्न ठेक्का लगाएको थियो । तर ठेकेदारले नाला निर्माण कार्य अधुरै छाडिदिएका छन् । नाला निर्माणका लागि खनिएका ठुल्ठुला खाल्टोहरुमा पानी भरिएको छ । मिर्चैयावासीहरुलाई उक्त खाल्टो तरेर घर भित्र छिर्न समेत कठिनाई भएको छ ।

नाला निर्माण कार्य अधुरो छोडिएको, निर्माण भएको नाला पनि भत्किएको र नालाका लागि खनिएको खाल्टोहरु ठेकेदारले नपुरेको कारण मिर्चैया बजार अस्तव्यस्त छ । बजारवासीहरुले सास्ती खेप्न बाध्य छन् । बनेको नाला पनि भत्के पनि सम्बन्धित निकायले ठेकेदारलाई कारबाही गरेका छैन् ।

तीन दिनदेखि लगातार जारी बर्षाले सिरहा सदरमुकाम, लहान, गोलबजार र मिर्चैयामा रातिदेखि नै विधुत अवरुद्ध छ । ठाउँ ठाउँमा विद्युत पोल भत्केर खसेकोले सेवा अवरुद्ध हुन गएको विद्युत प्राधिकरण शाखा मिर्चैयाका प्रमुख शिवराम यादबले जानकारी दिए । उनले पोल उठाउने काम भइरहेको बताए ।