२७ भदौ, काठमाडौँ । आपूर्ति मन्त्रालयले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाही गर्न सिफारिस गरेको छ । आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटाले खड्कालाई कारबाहीका लागि मन्त्रिपरिषद् लैजाने निर्णय गरेका हुन् ।

कारबाही सिफारिसपछि सचिव देवकोटा भने हिजो राति नै चीन गएका छन् । सचिव देवकोटाले गरेको सिफारिस प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिसकेको बताइएको छ ।

व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले निगमले तीन महिनाका लागि पेट्रोलियम पदार्थ भण्डारण गर्न खरिद गरेको जग्गामा खड्काले अनियमितता गरेको ठहर गर्दै आवश्यक अनुसन्धान गरी कानूनी कारबाही गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो ।

सोही निर्देशनका आधारमा आपूर्ति मन्त्रालयले खड्कालाई कारबाही सिफारिस गरेको हो । संसदीय उपसमितिले स्थलगत अध्ययनपछि तयार गरेको प्रतिवेदनमा निगमले चलेको मूल्यभन्दा १० गुणा बढीसम्म तिरेर जग्गा खरिद गरेको उल्लेख छ ।।