६ साउन, नयाँ दिल्ली । उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशमा बिहीबार भएको बस दुर्घटनामा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन ।

यस दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । यस घटनामा घाइते भएका सबैको अवस्था गम्भीर भएको जनाइएको छ ।

प्रान्तीय राजधानी सिमलाबाट १२० किलोमिटर टाढा पर्ने रामपुरनजिकै राष्ट्रिय राजमार्ग नं ५ मा सो दुर्घटना भएको थियो । चालकले नियन्त्रण गुमाएका कारण सो बस खोँचमा खसेको जनाइएको छ ।

यस बसमा चालक र सहायकसहित ४० भन्दाबढी व्यक्ति सवार रहेका जनाइएको छ । सो क्षेत्र एक पहाडी अप्ठेरोमा रहेकोले बारम्बार यस्ता दुर्घटना हुने गरेको अर्काे एक समाचारमा जनाइएको छ ।

यस घटनाको अनुसन्धान सुरु भएको एकजना वरिष्ठ सरकारी अधिकारीले जानकारी दिएका छन । रासस÷एएफपी